• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री

भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम



चिडियाखानामा हात्तिसँग रमाउदै पर्यटक

काठमाडौँ । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।

चिडियाखाना अवलोकनकै लागि अन्य दिन रु दुई सय तिर्नुपर्ने भए पनि आज रु ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताउनुभयो । कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उहाँका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

“यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो”, अधिकारी कोइरालाले भन्नुभयो ।

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

अवलोकनका लागि तीर्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यहाँ निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए ।

विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ । रासस