१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
अ अ+ अ-

रामपुर । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् ।

गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ ।

वर्षमा २५–३० मुरी चैतेधान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका–२ सिम्ले बस्ने सीता जिसी बताउनुहुन्छ । चैतेधानलाई भन्दा वर्षे धानलाई महत्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको उहाँको भनाइ छ ।

खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षेधान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षेधानले मात्र खान नपुग्ने हँुदा अनिकाल छोप्नका लागि दु:खसुखले अहिलेसम्म चैतेधानलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ, रामपुर–४ स्थित तल्लो वडमान कृषक समूहका सदस्य राधा पोखरेल ।

उहाँ भन्नुहुन्छ, “खस्रो, दरो चामल हुने भएकाले खादा त्यति स्वाद मीठो हुँदैन, खेती झन्झट, स्याहार्ने बेला पानी पर्ने समस्याले भोको नरहनका लागि केहीले मात्र चैतेधान लगाउने गरिएको छ, वर्षेधानले खान पुग्नेले अहिले लगाउन छाड्दै गएका छन् ।”

रामपुर–४ स्थित तल्लो वडमान क्षेत्रमा करिब तीन सय पाँच रोपनी जग्गामध्ये करिब दुई सय रोपनी क्षेत्रफलमा चैतेधान खेती गरिएको वडमान कृषक समूहका अध्यक्ष ओमबहादुर रानाले बताउनुभयो । “सिँचाइ सुविधा भएपछि धानखेतीलाई निरन्तरता दिइरहेको छ, पहिला तल्लो वडमान क्षेत्रका सबै खेत धानले भरिन्थे भने अहिले खेती गर्ने झन्झटका कारण केही जग्गामा मकैखेती लगाउन थालिएको छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाले सिँचाइका लागि पक्की कुलो निर्माणमा सहयोग गरेपछि समूहमा आबद्ध ३० घरपरिवारले धानखेती गरिरहेका छन् । यहाँ एक घरपरिवारले ४० मुरीभन्दा बढी चैतेधान स्याहार्ने गर्दछन् । एक रोपनीमा करिब छ मुरीसम्म धान फल्ने गर्दछ । बाउबाजेको पालादेखि नै चैतेधान खेती गर्ने गरिएको छ ।

तीन वर्षअघि तल्लो वडमान क्षेत्रमा चैतेधानको पकेट कार्यक्रम सञ्चालनका लागि कृषि ज्ञान केन्द्र पाल्पा र पकेट समितिको रु १४–१४ लाख गरी रु २८ लाखमा दुई सय दुई रोपनी क्षेत्रफलमा पकेट कार्यक्रम चलाइयो । समूहलाई चारवटा मिनीटिलर, दुईवटा पावरटिलर, दुईवटा रोटाभेटर, चारवटा धान काट्ने मेसिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल, बीउबिजनलगायतका सामग्री प्रदान गरिएको छ । यस क्षेत्रमा हाल चलनचल्तीमा आएका चैते–१, चैते–२, हर्दिनाथ, टाइचन, बगरेलगायतका धानका जात हुन् ।

परम्परागत खेती भए पनि खाद्य सुरक्षाका लागि यहाँका किसानले निरन्तरता दिएका छन् । जुन वर्ष दिन भरको गुजारा चलाउनका निम्ति धान लगाउने गरिएको छ । वैकल्पिक व्यवस्था भएका किसानले यसको खेती गर्न छाडिसकेका छन् ।

रामपुरको वडमान, देवीस्थान, खयरबोटलगायतका स्थानमा कृषकले चैतेधान खेती गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । उहाँका अनुसार परम्परागतरूपमा धानखेती गरिँदै आएका जग्गामा अहिले मकै लगाइएको छ । खोलाका किनार, सिँचाइ सुविधा भएका खेतमा फ्याट्टफुट्ट मात्रामा धान लगाउने गरिएको छ । रामपुर नगरपालिका क्षेत्रमा करिब पाँच सय रोपनी क्षेत्रफलमा चैतेधान खेती गरिँदै आइएको छ ।

हाल पाल्पा जिल्लाका रामपुर, पूर्वखोला, रम्भालगायतका विभिन्न क्षेत्रमा चैतेधान खेती गरिएको छ । सिँचाइको अभाव, धान काट्ने बेलामा वर्षा धेरै हुनाले गुणस्तरमा ह«ास हुने समस्याले पछिल्ला वर्षमा क्रमिकरूपमा किसानले खेती गर्न छाड्दै गइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।

“पछिल्लो समय गाउँमा बसेर काम गर्ने जनशक्ति नै छैन, युवा जनशक्ति विदेश पलायनका कारण खेती नै गर्न छाडिएको छ”, उहाँले भन्नुभयो, “ज्ञान केन्द्रले चैतेधानको प्रवर्द्धनका लागि सिँचाइका कार्यक्रम ल्याएको छ, सिँचाइका कार्यक्रम चलेका स्थानमा खेती गरेको पाइएको छ, अन्यत्र धेरै ठाउँमा मकैबाली लगाउन थालिएको छ ।”

पाल्पा जिल्लामा करिब सात सय पाँच हेक्टर क्षेत्रफलमा चैतेधान लगाइन्छ । ज्ञान केन्द्रले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीनतम् प्रविधि तथा यन्त्रहरूको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको छ । यो धान चिउराका लागि अति नै राम्रो मानिन्छ ।

जिल्लाका माडी, अर्गेली, कचल, पूर्वखोला, हुँगी, ढुङ्गानाबेँसीलगायतका फाँट चैतेधानले हराभरा हुने फाँट हुन् । अहिले यहाँका अधिकांश फाँटमा फाट्टफुट्ट मात्र धानखेती हुने गरेको छ । सिँचाइ सुविधा पुगेर पनि कतिपय ठाउँमा खेती लगाउन छाडिएको छ भने केही ठाउँमा अझै पनि आकाशे पानीकै भरमा चैतेधान लगाउनुपर्ने समस्याले धान लगाउन छाडेर मकैखेती गरेको पाइएको छ । प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर बनाउन चैते धानलाई पनि प्रवर्द्धन गर्न सकेमा आयातित खाद्यान्नलाई केही हदसम्म भए पनि रोक्न सकिने छ । रासस