२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेशलाई देवेन्द्र पौडेलको जवाफ– मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउनुभएको हो ।

त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा निति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गर्नुभयो ।

उहाँले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताउनु भयो । उहाँले इतिहासलाई सम्मान गर्न पनि आग्रह गर्नुभयो । उहाँले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनि नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरुले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत शान्ति सम्झौता ? तपाईको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही श्रृङ्खलामा छौँ । त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो ।

म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला । नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो । हामी सबैपछि सहकार्य गर्‍यौँ । जनआन्दोलनमा आयौँ । सलाम छ । तर इतिहासलाई नबिर्सौ । रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ । माननीयज्युहरु धनगढीमा गएर तपाईहरुले अहिले चलिरहेको छ नागरिक अभिनन्दन । राजतन्त्र फर्काउने कुरा । त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौँ । आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडी बढ्ने इतिहास हो । विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ ।’

उहाँले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताउनु भयो । निति तथा कार्यक्रम पारित हुने उहाँले बताउनु भयो ।