१ असार २०८३, सोमबार
,
Latest
काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी



अ+ अ-

बेदकोट । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स-साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ ।

यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिनुभयो, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उहाँले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गर्नुभएको छ । ‘यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ’, उहाँले भन्नुभयो, ‘दैनिक रु। एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।’

जगदेवको परिवार नै बगरमा तरभुजा खेती गर्नमा खटिने गरेका छन् । बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरभुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो । अनडैया भन्ने ठाउँमा बस्ने उहाँ आरक्ष विस्तारका क्रममा विस्थापित हुनुभएको थियो । अनडैयाबाट विस्थापित भएपछि उहाँसँग खेतीपातीका लागि जमिन थिएन । त्यसपछि बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उहाँले बताउनुभयो ।

‘कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ’, उहाँले भन्नुभयो, ‘खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा खेती गरेर जीवन धानेका छौँ ।’ वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन् । अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरभुजा बेचेर घर खर्च चलाइरहेका छन् ।

गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उहाँहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्नुहुन्छ । ‘सुरुमा घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु’, उहाँले भन्नुभयो, ‘बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।’

उहाँका अनुसार प्रत्येक वर्षमा तरभुजा बिक्री गरेर रु ३० हजारदेखि रु ४० हजारसम्म बचत हुने गरेको छ । ‘छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरभुजा बेचेर आएको पैसाबाट हुन्छ’, मानबहादुरले भन्नुभयो, ‘रु ३० हजारदेखि रु ४० हजारसम्म लगानी लाग्छ ।’

मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा तरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । तरभुजा प्रतिकेजी रु २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ । बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताउनुभयो । ‘गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन’, उहाँले भन्नुभयो, ‘बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ ।’-रासस




भर्खरै