• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाइ प्रोफाइल’



काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीनजना गत १२ चैतमा पक्राउ परेलगत्तै उनीहरूसँग जोडिएका उच्चपदस्थहरू सतर्क भए । आफ्नो नाम पोलिने चिन्ता उनीहरूलाई थियो । त्यसैले छिटो अनुसन्धान टुंग्याएर बुझाउन भोलिपल्टैदेखि प्रहरीमाथि दबाब दिन थालियो ।

ठूला नेताबाटै दबाब आएपछि प्रहरीले तत्कालै बयानको प्रक्रिया अघि बढायो । एक पूर्वसांसदले पक्राउ परेका अभियुक्तलाई भेटेरै पैसा फिर्ता गराइदिने आश्वासन दिँदै नेताको नाम बयानमा नलिन आग्रहसमेत गरेका थिए । केही पैसा फिर्ता पनि गरिदिए ।

सुरुमा बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ पक्राउ परेका थिए, तीन दिनपछि सागर राई पनि समातिए । दुलाल, गुरुङ र राईले सुरुमा इन्कारी बयान दिए भने भण्डारीले ‘कसैलाई नछाड्ने’ अडान लिए । बयानका क्रममा उनले आफूले पैसा बुझाएका सबै नेता र कर्मचारीका नाम लिए । तर, प्रहरीले उनको बयान लिपिबद्ध गरेन । बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको थियो ।

बयानका क्रममा प्रश्नोत्तर गरी बोलिएका कुरा लिपिबद्ध गरी त्यसमा हस्ताक्षर गराइन्छ । जहाँ भण्डारीले आफूले भनेअनुसार बयान नलेख्ने हो भने ‘सरकारी वकिल कार्यालयमै आत्मदाह गर्ने’ धम्की दिए । त्यसपछि बयान कक्षमा सन्नाटा छायो । प्रहरी र सरकारी वकिलले केही दिनका लागि बयान नै रोकेको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

भण्डारीले एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतकोे नाम लिएका थिए । ती नामले प्रहरी झस्किएको थियो । प्रहरीमाथि बयानमा उच्चपदस्थको नाम हटाउन निरन्तर दबाब थियो भने एकथरी प्रहरी यो मुद्दालाई संगठित अपराध कसुरमा लगेर विस्तृत अनुसन्धान गराउने पक्षमा थियो । तर, सरकारी वकिल कार्यालयले संगठित अपराधमा नलगी छिटो मुद्दा बुझाउने प्रक्रिया अघि बढायो ।

बिचौलियामध्येका एक भण्डारीले बोलेअनुसार बयानमा नलेखे जे पनि गर्न सक्ने भन्दै धम्क्याएकाले प्रहरी र सरकारी वकिलमाथि दबाब बन्यो । त्यसपछि उनकै बयानका आधारमा प्रहरी प्रमाण संकलनतर्फ केन्द्रित भयो । बयानअनुसारको आर्थिक कारोबार प्रमाणित हुँदै गएपछि यो मुद्दामा एकपछि अर्का ‘हाई प्रोफाइल’ तानिन थाले ।

खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी
पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ ।

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।

खाण मन्त्री रहेका वेला ठगी गर्ने गिरोहलाई सहयोग पुग्ने गरी गृह मन्त्रालयबाट केही नीतिगत निर्णय पनि भएको स्रोत बताउँछ । डितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाणलाई पनि पैसा बुझाएको भन्ने अडियो सार्वजनिक भएको छ । सो अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन् । तर, त्यसलाई पुष्टि गर्ने आधार हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म सो मुद्दामा आठजना थुनामा छन् । उनीहरूलाई थप सात दिन थुनामा राख्न आइतबार जिल्ला अदालतले म्याद दिएको जिल्ला परिसरका प्रवक्ता एसपी रिजालले बताए ।