७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 6.17

Humidity: 18

Latest
दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँः स्वास्थ्यमन्त्री आईपीएलको उद्घाटन समारोहमा क–कसले प्रस्तुती दिनेछन् ? जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम वैशाख २४ भित्रै सकिन्छः उपप्रधानमन्त्री सिंह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चाल गर्छौंः प्रधानमन्त्री ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा प्रभु साहद्वारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु आउँदो आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ तमानखोलाको दुर्गम गाउँ नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’



फाईल फोटो
अ+ अ-

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो ।

एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो ।

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । “ यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुई सय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एक सय ६० टनेल वितरण गरिसकेका छौँ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो ।

दुर्गम गाउँमा व्यावसायिक तरकारी उत्पादनप्रति स्थानीयवासीको चासो नदेखिएको र थोरै परिणाममा तरकारी उत्पादन गर्दा बजारीकरणको समेत समस्या हुने भएकाले वडाका सबै घरमा टनेल स्थापना गर्न थालिएको हो ।

रु चार हजार आठ सय लागतको प्लास्टिक अनुदानमा लैजान स्थानीयवासीले ६ सय वडा कार्यालयमा बुझाउनुपर्नेछ । स्थानीयवासीको १५ प्रतिशत साझेदारीमा टनेल स्थापनाका लागि प्लास्टिक वितरण गर्दा स्थानीयलाई अपनत्व हुने वडा कार्यालयको बुझाइ छ ।

अबको केही महिनाभित्रै वडाका दुई सय घरमा टनेल स्थापना भइसक्नेछन् । जम्मा दुई सय घरधुरी रहेको वडामा सबै नागरिकका घरमा टनेल स्थापना भइसक्दा नर्जाखानी तरकारीमा आत्मनिर्भर मात्रै नभएर तरकारी निर्यात गर्न सकिने वडाका रुपमा परिचित हुनेछ ।

चिसोका कारण खुल्ला जग्गामा काउली, बन्दा, सिमी तथा टमाटर लगायतका अत्यावश्यक तरकारी खेती राम्रो नहुने भएकाले सबै घरमा टनेल स्थापना गर्ने वडा कार्यालयले योजना बनाएर अगाडि बढेको हो । वडा कार्यालयले तरकारी उत्पादनका लागि आवश्यक प्लास्टिक वितरण गर्दा स्थानीय सरकारको आभाष भएको स्थानीय जसदेवी छन्त्यालले जानकारी दिनुभयो । रासस