• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

समझदारीपत्रमा हस्ताक्षर



काठमाडौँ । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गर्नुभएको थियो ।

भारत सरकारले उक्त फाउन्डेसनलाई उपलब्ध गराएको करिब रु पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ ।

दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपिजी ग्यास उपलब्ध गराउने उद्देश्यले भारत सरकारको ‘प्रधानमन्त्री उज्ज्वला योजना’अन्तर्गत सो अनुदान उपलब्ध गराएको हो ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये महोत्तरी जिल्लाका छवटा गरी मधेस प्रदेशमा मात्र ८१ वटा आयोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवं स्वास्थ्यचौकीलाई २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ । रासस