२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ

खाल्डो काठमाडौँ र विषाक्त वातावरण

खाल्डो काठमाडौँ र विषाक्त वातावरण
file photo
अ अ+ अ-

करिब १ महिनाअघि संसारका सबै सहरहरुलाई उछिनेर काठमाडौँ नम्बर १ प्रदूषित सहर बन्यो । कालो मुस्लोले काठमाडौँ ढपक्कै ढाक्यो, टाढाको हिमाल त परै जावोस् नजिकैको छिमेकीको घर पनि नदेख्ने बनायो। यो घना प्रदूषणले काठमाडौँको चर्चा संसारको कयौँ मिडियामा छायो। यसले सर्वसाधारण मानिसमा केही चिन्ता र नैराश्य थपियो।

विगत दुई दशकमा अविरल मानव भेलले काठमाडौँले धान्ने नसक्ने बनेको छ। सहरको नाममा मान्छेको झुण्ड, अव्यवस्थित घर, अव्यवस्थित र प्रदूषित् सहर बाहेक काठमाडौँले सहरको रौनकतालाई अरु केही थप दिएको जस्तो देखिन्न।

कचौरा जस्तो खाल्डो र साँघुरो, सानो काठमाडौँ भौगोलिक बनोटबाट अत्यन्त संवेदनशील ठाउँ हो। ३०औँ वर्षदेखि खानेपानीको हाहाकार र कोलाहालमा गुज्रिएको काठमाडौँ विगत दुई दशकदेखि वायु प्रदूषण को चरम चपेटामा निरन्तर लपेटिँदै गएको छ।

यो पनि पढ्नुहोस -बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था आइसक्यो

किन काठमाडौँ वायु प्रदूषणको चपेटामा छ त ?

काठमाडौँ संस्कृति, सभ्यता र कलाको नमूना हो। यो अद्भुत सहर कुरुपतातिर धकलिएको धेरै भयो। यहाँका स्वच्छ नदीनाला, मलिलो माटो र स्वच्छ वायु कल्पना गर्नै नसकिने गरी भताभुङ्ग भएको छ। विगत केही दिनदेखि काठमाडौँ विशेषगरी वायु प्रद्रषणको अग्रपङ्क्तिमा उभिएको छ।

काठमाडौँ एउटा खाल्डो हो । चारैतिरबाट पहाडले घेरिएकोले काठमाडौँमा राम्रोसँग वायु स्थानान्तरण (भेन्टिलेसन) हुँदैन। यसको अर्थ हुन्छ काठमाडौँमा रहेको प्रदूषित हावा त्यति सजिलोसँग निकास हुँदैन। फलतः काठमाडौँमा निस्केको धुवाँ र धुलो यही खाल्डोभित्र निरन्तर थुप्रिरहन्छ। गर्मीको समयमा काठमाडौँको सतह र वरिपरि पहाड केही तात्ने भएको हुनाले तल थुप्रिएको प्रदूषण केही उचाइमा पुग्दछ र पश्चिमबाट चल्ने हावाले त्यसलाई काठमाडौँबाट निकाल्न सहयोग गर्दछ। तर जाडोको मौसममा या भनौँ तापक्रम कम भएको बेलामा यो प्रक्रिया बिथोलिन्छ र काठमाडौँको वायुको निकास हुन नसकी त्यहीँ रहिरहन्छ। फलतः काठमाडौँमा निरन्तर निक्लेको प्रदूषण त्यहीँ जम्मा भई विकराल रुप लिन्छ।

यो पनि पढ्नुहोस-कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?

त्यो सँगसँगै अहिले काठमाडौँमा बाहिरको प्रदूषण पनि थपिने गर्दछ। अनुमानित करिब करिब ५–१५% काठमाडौँको प्रदूषण बाहिरबाट आएको दुषित हावाले गर्दा हुन्छ। भारततिरबाट आएको प्रदूषित हावाले काठमाडौँ खाल्डोमा आएर थुप्रिँदा यसलाई थप चपेटामा पारेको छ। सँगसँगै बेलाबेलामा काठमाडौँ नजिकको पहाडहरुमा लाग्ने आगलागीले काठमाडौँको प्रदूषणको स्रोत थप्न मद्दत गरेको छ।

काठमाडौँको वायु प्रदूषणलाई सूक्ष्म अध्ययन गर्ने हो भने काठमाडौँको वायु प्रदूषण मानव सिर्जित हो। धेरैलाई लाग्न सक्छ बाटोको धुलो पनि कारण हो। वायु प्रदूषणको मापन गर्दा केही प्राविधिक शब्द प्रयोग हुन्छ PM10 PM 5 र PM1। काठमाडौँको वायु प्रदूषणको मापन १०, 2.5 र १ माइक्रोन (µm) मा गरिएको छ र त्यससँगको तथ्यांक वेबसाइटमा राखिएको पाउन सकिन्छ।

ठूलो कण 10 (PM10) माइक्रोनको स्रोत प्राकृतिक हुन सक्छन् भने सानो कण 2.५ (PM2.5) र १ (PM1) माइक्रोनको स्रोत मानव उत्सर्जित हुन्छन् र त्यसको स्रोत यातायात, उद्योग, कल कारखाना, खान पकाउने इन्धन आदि हुने गर्दछन् । PM2.5 र PM10 दुवै फोक्सोमा गहिरो प्रवेश गर्न सक्षम छन् तर 2.5 माइक्रोन (µm) भन्दा सानो व्यास भएका कणहरु मानव स्वास्थ्यको लागि प्रतिकूल हुने गर्दछ। साना कण स्वास लिँदा हावासँगै फोक्सोमा जान्छन् तर धेरै सानो भएकोले स्वास फाल्दा फोक्सोबाट बाहिर आउन सक्दैनन्।

त्यसको अर्थ हुन्छ तस् साना कणहरु विस्तारै फोक्सोमा थुप्रिँदै जान्छन् र विस्तारै फोक्सोको कार्यलाई प्रभावित बनाई शरीरमा विभिन्न रोग निम्त्याउँछन्। PM2.5 भन्दा साना कणहरु रक्तनलीमा सजिलै प्रवेश गर्ने हुनाले रक्त प्रवाहमा समाहित हुन्छन, त्यसले मुख्यरूपमा हृदय र श्वासप्रश्वासमा असर गर्छ र अन्य अंगहरूलाई पनि असर गर्छ । ती साना कणहरु कयौँ घातक रसायन (ओजोन, कार्बन मोनोअक्साइड, नाइट्राइट, लेड जस्ता धातु आदि) का बाहक हुन्छन् र फोक्सोमा पुगेर जम्मा हुन्छन्।

सन् २०१३ मा डब्लुएचओको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (IARC) द्वारा बाहिरी वायु प्रदूषण र कण पदार्थलाई कार्सिनोजेनिक (क्यान्सरजन्य) को रूपमा वर्गीकृत गरिएको थियो। मानिसले केही सेकेन्ड पनि सास रोक्न सक्दैन, त्यस्तो अवस्थामा निरन्तर फोक्सोमा प्रदूषित हावा जाने हो भने कस्तो नकारात्मक असर पर्छ आफैँ अनुमान लगाउन सकिन्छ।

वायुमा सानो कणको मात्रा जति बढी हुँदै जान्छ त्यति नै मानव सिर्जित प्रदूषण भन्ने मानिन्छ (गाडी, उद्योग, इन्धन स्रोत आदि)। वायुमा सानो कण र ठूलो कणको अनुपातले वायु प्रदूषणको मात्रालाई वर्णन गर्न सजिलो हुन्छ। काठमाडौँको वायुमा सानो कणको अनुपात (ठूलो कणसँग) विश्लेषण गर्ने हो भने करिब करिब PM1 /PM10 को अनुपात झन्डै ६०% र PM2.5 /PM10 को अनुपात झन्डै ७०% को हाराहारीमा देखिन्छ। अहिले PM2.5 को मात्रा हुनु पर्नेभन्दा झन्डै १० गुनाले बढी छ ।

साधारणतया PM2.5 /PM10 को अनुपात ३०% भन्दा तल हुनु पर्ने हो। PM2.5 /PM10 को अनुपात ५०% भन्दा माथि जानु भनेको वायु हानिकारकको परिसूचक हुन्छ। त्यसमाथि पनि PM1 को मात्रा वायुमा अत्यधिक हुनु भनेको हाम्रो वायु अत्यन्त विकराल र चिन्ताजनक स्थितिमा पुगेको अनुमान लगाउन सकिन्छ। डब्लुएचओको प्रतिवेदनअनुसार वायु प्रदूषणले मानिसको जीवन सरदर ५ वर्षभन्दा बढीले घटाएको देखिएको छ।

यो भयावह तथ्यांकलाई हेर्ने हो भने काठमाडौँको मानिसको सरदार आयु कयौँ वर्षले घटेको अनुमान लगाउन सकिन्छ। तत्काल वैज्ञानिक र तथ्यपरक अध्ययन र अनुसन्धान अत्यन्त आवश्यक देखिन्छ।

डब्लुएचओले वायु प्रदूषणको नियन्त्रण गर्न र यसको गुणस्तर क्रमिकरुपमा सुधार गर्नका लागि विभिन्न दिशानिर्देश गरेको छ । हाम्रो जस्तो उच्च वायु प्रदूषणस्तरसँग संघर्ष गरिरहेका लागि यो अत्यन्त गाह्रो काम हुनेछ किनकि नेपालमा वायु प्रदूषणको मात्राको सीमा राम्रोसँग कागजमा तोकिएको बिसौँ वर्ष बितिसकेको छ, त्यो संँ सरकारको दिशानिर्देशभन्दा माथि वायु प्रदूषणको मात्रा भएको पनि दुई दशकभन्दा बढी भइसक्यो तर विडम्बना नीति नियम र दिशानिर्देश कागजको खोस्टामा नै सीमित रह्यो ।

त्यसैले के निर्क्यौल निकाल्न सकिन्छ भने काठमाडौँको अहिलेको प्रदूषणको भयावह स्थिति विगत तीन दशकमा अलिकति पनि विवेक र ज्ञान भएको सरकार र त्यससँग सम्बन्धित नीति निर्माण गर्ने निकाय, थाहा पाए पनि रत्तिभर समाधानको सिन्को नभाँच्ने नीति निर्माताको उपज हो । बाँच्नका लागि स्वच्छ हावा चाहिन्छ भन्ने थाहा हुँदाहुँदै बिहान निक्लेको हामी बेलुकी घर छिरेर, हात, नाक र मुख पखाल्दा कालो फोहोर आउँदा आउँदै पनि त्यसको आवाज नउठाउने हामी आम नागरिक पनि त्यति नै दोषी छौँ।

दिन प्रतिदिन हामीले हाम्रो स्वास्थ्य अत्यन्त नराम्रो तवरले खेलबाड गर्यौँ तर त्यो सँगसँगै हामीले हाम्रा बालबालिकालाई कहिले नछोड्ने श्वासप्रश्वासको दीर्घरोगी पनि बनायौँ र यो क्रम कहिलेसम्म जारी रहने हो भन्न सकिन्न ।

समाधानका केही उपायहरु

१. नागरिकमा वायु प्रद्रूषणको चेतना, त्यसको असरलाई व्यापकरुपमा जानकारी गराउने ।

२. सकेसम्म इन्धनको प्रयोग कम गर्ने र वैकल्पिक ऊर्जा र इन्धनलाई प्रोत्साहन गर्ने ।

३. स्वच्छ र विकसित प्रविधिको प्रयोग गर्ने र प्रदूषण कम उत्सर्जन गर्ने ।

४. फोहोरजन्य वस्तुहरुको सही व्यवस्थापन गर्ने र फोहोरजन्य वस्तुबाट निक्लेको इन्धन (मिथेन ग्यास) लाई सदुपयोग गर्ने ।

५. उद्योग र कलकारखानामा प्रदूषण कम गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने, ठूला कलकारखाना र उद्योगलाई काठमाडौँबाहिर विस्थापित गर्ने ।

६. काठमाडौँका केही स्थानमा अग्ला भ्याकुम चिम्नी निर्माण गर्ने र वायुमा रहेको प्रदूषणलाई संकलन गरी व्यवस्थापन गर्ने ।

७. काठमाडौँमा बसाइँसराइ लाई निरुत्साहित गर्ने ।

८. काठमाडौँको जनसंख्या र जनघनत्वलाई विस्तारै घटाउँदै जाने (वैकल्पिक नमूना सहरको दिगो विकासको योजना ल्याएर कार्यान्वयन गर्ने) ।

९. काठमाडौँ आउनु पर्ने बाध्यतालाई कम गर्ने (विकेन्द्रीकरण गर्ने) र केही मुख्य कार्यालयहरु काठमाडौँबाट स्थानान्तरण गर्ने र यो प्रक्रियालाई निरन्तरता दिँदै सकेसम्म धेरै केन्द्रिय कार्यालय काठमाडौँ बाहिर सार्ने ।

यी माथि उल्लेख गरिएका (या अरु हुन सक्ने) समाधानका उपायहरु के, कति, कसरी र दिगोरुपमा लागु गर्न सकिन्छ त्यसका लागि स्थानीय सरकार र केन्द्रिय सरकारले तत्काल कदम चाल्नु पर्ने देखिन्छ। यो विषयलाई लिएर सरकार कति गम्भीर छ भन्ने कुरा यसले ल्याउने नीति नियम र व्यवस्थापनले देखाउने छ।

वातावरणविद् अर्यालसँग करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।