• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकलाई सम्मान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



फाईल फोटो

काठमाडौँ । हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । श्रमिकहरुको महत्व र अधिकारबारेमा जागरुकता बढाउन तथा मानिसहरुलाई शिक्षित गर्नका लागि मे दिवस वा श्रमिक दिवसका रुपमा मनाउने गरिन्छ ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य श्रमिकहरुको उपलब्धीको सम्मान तथा उनीहरुले गरेको योगदानलाई सम्झनु हो । यसका साथै श्रमिकका हक तथा अधिकारका लागि आवाज उठाउनु तथा शोषण रोक्नु पनि हो । मजदुर तथा श्रमिकलाई सम्मान गर्दै यस दिनलाई दिवसका रुपमा मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘राष्ट्रका उच्च स्थानबाट वार्षिकरुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइनेछ’, उहाँले भन्नुभयो, ‘मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै विसं २००३ मा कांग्रेस नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो एतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरी जननायक विपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरिएको बताउनुभएको छ ।

‘नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ’, उहाँले भन्नुभएको छ ।
कहाँबाट सुरु भयो ?

अमेरिकामा सन् १८८६ मे १ मा विभिन्न माग राख्दै मजदुरहरुले सडक आन्दोलन सुरु गरे । तत्कालीन समयमा मजदुरहरुले दैनिक १५ घण्टा काम गर्नुपर्ने अवस्था थियो । तर आन्दोलन बढ्दै जाँदा हिंसात्मक गतिविधि बढ्न थाले । आन्दोलनका क्रममा सिकागोको हेमार्केटमा बम बिस्फोट हुँदा कैयन मानिसहरुले ज्यान गुमाएका थिए । यसका कारण कैयन नेताहरु पक्राउ समेत परेका थिए । यो आन्दोलन अन्तर्राष्ट्रियस्तरसम्म पुग्यो ।

उक्त आन्दोलनको तीन वर्षपछि सन् १८८९ जुलाई १४ मा मा यूरोपमा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको बैठक भएको थियो । जसमा हरेक मजदुरले दिनमा ८ घण्टा मात्रै काम गर्ने व्यवस्था गरियो । उक्त सम्मेलनले मे १ लाई मजदुर दिवसका रुपमा मनाउने प्रस्ताव राख्दै उक्त दिन बिदा दिने निर्णय समेत गर्यो ।

उक्त सम्मेलनपछि पहिलो पटक सन् १८९० मे १ मा मजदुर दिवस मनाउन सुरु भएको हो । उक्त आन्दोलनले अमेरिकामा दैनिक ८ घण्टा काम गर्ने व्यवस्था लागू भयो भने अन्य देशले पनि यो नियम कार्यान्वयनमा ल्याए । हाल यो दिवस विश्वका ८० भन्दा बढी देशमा मनाउने गरिन्छ । अमेरिका र क्यानडामा भने श्रमिक दिवस सेप्टेम्बरको पहिलो सोमबार मनाउने गरिन्छ ।