२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा फेरि भीषण युद्ध, अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त



अ+ अ-

खार्तुम । सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।

सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख अब्देल फताह अल बुरहान र आरएसएफ प्रमुख मोहम्मद हमदान डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकले बताएका छन् ।

पन्ध्र दिनअघि शुरु युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

आठ वटा अफ्रिकी मुलुकका साथै अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घको ७२ घण्टा पुनःयुद्धविराम गराउने गहन कूटनीतिक प्रयास गत बिहीबार सफल भएको र द्वन्द्वरत पक्षले त्यसलाई पालना गर्ने बताएका थिए तर उक्त सहमति पूर्णरुपले पालना नभएकामा अन्तरराष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

युद्धबाट सुडानका १८ मध्ये १२ वटा राज्य प्रभावित भएका छन् । डार्फुर र राजधानी खार्तुम अधिक प्रभावित भएका छन् । राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले युद्ध जारी रहेमा एक करोड ५० लाख सुडानी भोकमरीको चपेटामा पर्ने चेतावनी दिएको छ । रासस