• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

सरकारमा अहिले गइहाल्ने अवस्था छैन, ४ वर्ष पर्खिन सक्छौं– रवि लामिछाने



फाईल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा अहिले तत्काल नजाने बताएका छन् ।

उपनिर्वाचनमा चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थन समेत तत्काल फिर्ता नलिन सकिने जिकिर गरे ।

सभापति लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ ।’, उनले थपे, ‘भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’ ।

सभापति लामिछानेले आफ्नो पार्टी अहिले नै सरकारमा जाने स्थिति नरहेको स्पष्ट पारे । ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन’, उनले भने ।

सञ्चारकर्मीहरुले सरकारमा नजाने भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले यो विकल्प उचित रहेको बताए । उनले दोस्रोपटक संसदमा पुनः निर्वाचित भएकोमा रोमाञ्चित बनेको बताए ।