• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य



काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले लज्जास्पद ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो ।

नेपालको अन्तिम विकेटमा ललीत आउट हुन पुगे । २८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो । सन्दीप ५८ बलमा ४८ रन बनाउदै नटआउट रहे ।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।कतारका तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा शट खेल्ने चक्करमा कुशल खुराम शाहजादको हातमा थामिन पुगे ।

यस्तै, मुनाविराको चौथो ओभरको तेस्रो बलमा भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए । ओपनर आसिफ शेख पनि तीव्र गतिका बलर इक्रमउल्लाह खानको १३ औं ओभरको चौथो बलमा १९ रन बनाएर मोहम्मद तनविरबाट क्याच आउट भएका थिए । आसिफले २७ बलमा २ चौका प्रहार गरेका थिए ।

नेपालले आसिफलाई गुमाएपछि ब्याटिङमा सोमपाललाई पठाएको थियो । कप्तान रोहित पौडेल ३६ बलमा २ चौकासहित २७ रनमा आउट हुँदै पेभेलिएन फर्किए । रोहित स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा विकेटकिपरबाट क्याच आउट भए।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक बनाएका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रन बनाएर आउट भएका थिए।

सोमपाल कामी ११ रनमा क्याच आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए ।

यस्तै, आरिफ शेख आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट भएपछि नेपाल १०२–७ को दयनीय अवस्थामा पुगेको थियो । आमिरकै बलमा दीपेन्द्र १२ रनमा क्याच आउट भए ।

त्यसैगरी, गुल्शन झा २७ औं ओभरको अन्तिम बलमा क्वाइस अहमदको बलमा आउट भए । उनी ९ बलमा ७ रन बनाउदै आउट भए ।

कतारका क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । आमिर फारुकले चार विकेट लिदा मुनाविराले २ विकेट लिए भने इक्रमउल्लाह खानले एक विकेट लिए ।