६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपः नेपालले कतारसँग खेल्दै



अ+ अ-

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज बिहिबार कतारसँग खेल्दैछ ।

समूह ‘ए’मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारविरुद्ध त्रीविस्थित टियु मैदानमा खेल्न लागेको हो । नेपाल र कतारबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । यस्तै, ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित आवश्यक पर्दछ । नेपालले खेल जितेमा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ । अंक बाँड्दा नेपाल र ओमान दुबैको समान ६ अंक हुनेछ ।

किनभने नेपाल रनरेटमा ओमानभन्दा अघि छ । तर, अन्तिम खेलमा नेपाल पराजित भएमा उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा जारी प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।