३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो
file
अ+ अ-

वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले विभागबाट आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिनुभयो । उहाँले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउनुभयो । यो याममा सगरमाथा आरोहणका लागि उत्साहवद्र्धकरुपमा धमाधम आरोही आइरहेको उहाँले उल्लेख गर्नुभयो ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन)ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।

एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका बताउनुभयो । केही आरोही बीचबाटौमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवद्र्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताउनुभयो

चौथो आधार शिविर नजिक बाटो पुग्यो

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउनेक्रममा चौथो आधार शिविर नजिकसम्म खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको तेस्रो शिविरभन्दा माथि येल्वो मेन्ड भन्ने स्थानसम्म बाटो बनिसकेको छ ।

शुक्रबारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीन दिनदेखि आराम गरिरहेका निर्देशक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्रमा मौसम राम्रो छैन, त्यसैले बाटो बनाउनेहरु आराम गर्दैछन् । अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो, तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एक/दुई दिनमै काम पुन:सुरु हुन्छ ।”

सगरमाथा आरोहणको यो याममा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । तथापि यो याममा सगरमाथाको दोस्रो शिविरमाथितिर हालै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उहाँको भनाइ छ ।

मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने

मौसमले साथ दिएको खण्डमा आगामी मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरु आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् ।

एसपिसिसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरकफरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ । विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपिसीले बाटो बनाउँद आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइरहेका छन् ।

नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा

पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमा छन् ।

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ वसन्त ऋतुको यो याममा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कनुभएको छ ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार हालसम्म छ हजार पाँच सय सात आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को सङ्ख्या जोड्दा आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । तथ्याङ्कअनुसार हालसम्म तीनसयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।रासस