७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री दाहाल



अ+ अ-

पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताउनुभएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उहाँले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताउनुभयो ।

“देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ । त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदैछ । जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधिनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ । यसमा वौद्धिक वर्गले ध्यान दिनु जरुरी छ ।”

अप्रिल २२ कम्युनिष्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताउनुहुँदै प्रधानमन्त्री दाहालले विगतका कमी–कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही नीति, विधिअनुरुप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नरबहादुर कर्माचार्य सम्मानित व्यक्तित्वमात्रै नभएर क्रान्तिकारी भएर बस्नुभएको स्मरण गर्नुभयो । उहाँले कर्माचार्य मुस्किल कुरालाई सहज बनाउने पारदर्शी व्यक्तित्व भएको र मजदुर आन्दोलनको प्रत्यक्ष भूमिका निर्वाह गरेको बताउनुभयो । नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहालले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सुरु गरेको प्राविधिक शिक्षालयलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दु:खद् भए पनि कुनै नेताका कारण समस्या आएकाले आन्दोलन अगाडि बढाउन नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । उहाँले कठिन परिस्थितीमा छुट्टै पार्टी बनाएर आन्दोलनमा लाग्नु आफ्नो विकल्प नभएको बताउनुभयो ।

“कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दु:खद् हो । तर कुनै नेताका कारण समस्या आएर कम्युनिष्ट आन्दोलन नै अगाडि नबढ्ने अवस्था आउँदा सिद्धान्तअनुरुप अगाडि बढ्न कठिन हुन्छ । यस्तो अवस्थामा प्रतिकूलताका बाबजुद छुट्टै पार्टी बनाएर कम्युनिष्ट आन्दोलनमा लाग्नु राम्रो हो ।” अध्यक्ष नेपालले भन्नुभयो, “धेरै कम्युनिस्ट पार्टी छौँ, एउटै पार्टीका रूपमा हामी मिल्न नसके पनि राष्ट्र र राष्ट्रियताका विषय, देश हित र जनताका हितसँग जोडिएका विषयमा सहकार्य गरेर अगाडि जान सकिन्छ । यसका लागि समाजवादी मोर्चा बनाउन सकिन्छ । विसं २०६२र६३ पछि कम्युनिष्ट पार्टीको हिस्सा दुईतिहाइमा पुगेको थियो, २०७४ को संसद्मा दुईतिहाइ थियो । त्यसलाई बचाउन सकिएन ।”

कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउने काममा लाग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कूटनीतिक कौशलता देखाएर वर्तमान सरकार टिकाउँदै समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादोन्मुख समृद्धि पूरा गर्ने दिशातिर जानु आवश्यक भएको बताउनुभयो ।

“कम्युनिष्ट पार्टीहरूले आत्मसमीक्षा गरेर राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नु आवश्यक छ । यसका लागि हामीहरूले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेर जानुपर्ने आवश्यकता छ ।” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आजको दिनमा संस्थापक कर्माचार्यबाट प्रेरणा लिँदै हामीले जनताले अपनत्वबोध हुने काम गर्नुपर्ने समय छ । पार्टीमा वैचारिक, सांस्कृतिक सङ्कट अहिलेको समस्या छ । कम्युनिष्ट आन्दोलनको उपलब्धि संरक्षणका लागि रुपान्तरणको अभियान सञ्चालन गरेर समृद्धिको लक्ष्यतिर लाग्नुपर्ने बेला आएको छ ।” मन्त्री श्रेष्ठले वैचारिक स्पष्टताका लागि नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै निर्मल लामा स्मृति प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री शशि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको विजारोपणबाट अहिले पनि बहुमत सङ्ख्यामा कम्युनिष्ट विचारधाराका राजनीतिकर्मी रहेको बताउनुभयो । उहाँले संस्थापकले लिएको विचारलाई नेपाली मौलिकताका आधारमा जनताको हितअनुसार राष्ट्रियताको जगेर्ना गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न जमिनको खण्डीकरणलाई रोक्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष गिरिराजमणि पोखरेलले कम्युनिष्ट आन्दोलनको सहयोगी संस्थाका रूपमा प्रतिष्ठानलाई अगाडि बढाउने बताउनुभयो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रतिष्ठानको काममा महानगरले सहकार्य गर्ने बताउनुभयो ।