• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पुछारको साउथह्याम्प्टनसँग शीर्षस्थानको आर्सनलले अंक बाँड्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले आफ्नै घरेलु मैदान इमिरेट्स स्टेडियममा साउथह्याम्प्टनसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साउथह्याम्प्टनका लागि कार्लोस अल्काराज, थिओ वाल्कट र डुजे कलिटा सारले एक–एक गोल गरे । आर्सनलका गाब्रियल मार्टिनेली। मार्टिन ओडेगार्ड र बुकायो साकाले एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै आर्सनलले गोल खान पुग्यो । गोलकिपर आरोज राम्सडेलको गल्तीले आर्सनलले पहिलो गोल खाएको हो । उनले दिएको पासलाई साउथह्याम्प्टनका अल्काराजले गोलमा परिणत गरे । यस्तै, १४ औं मिनेटमा वाल्कटले गोल गर्दै साउथह्याम्प्टनलाई २–० ले अघि बढाए ।

२० औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ६६ औं मिनेटमा डुजेले हेडरमार्फत गोल गर्दै साउथह्याम्प्टनलाई ३–१ को स्थितीमा लगे । ८८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–२ को स्थितीमा ल्याए । यस्तै, ९० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई ३–३ मा ल्याउँदै हारबाट जोगाए ।

आर्सनलको यो लगातार तेस्रो बराबरी हो । यसअघि आर्सनलले लिभरपुल र वेस्टहाम युनाइटेडसँग बराबरी खेलेको थियो । लगातार बराबरीको नतिजासँगै आर्सनलको उपाधि होडमा धक्का पुगेको छ ।

शीर्षस्थानको आर्सनलको ३२ खेलबाट ७५ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले ७० अंकका साथ उसलाई पछ्याइरहेको छ । सिटीसँग २ खेल बाँकी छ । आगामी हप्ता आर्सनल र म्यान्चेस्टर सिटी भिड्दैछन् । साउथह्याम्प्टन भने ३२ खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा छ ।