९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र दिनमै कृत्रिम फोक्सो कालो



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ ।

गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको थियो । उक्त फोक्सो आज १५ दिनपछि झिकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमा नै फोक्सो कालो देखिनुले यहाँ वायु प्रदूषण धेरै नै भएको बताउनुभयो । “फोक्सो १५ दिनमा नै कालो भएको छ । यसबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने असरलाई बुझ्न सहज भएको छ”, उहाँले भन्नुभयो, “यसले फोक्सोलाई कति खराब गरेको छ भन्ने हामीले परीक्षण गर्नेछौँ ।”

उहाँले १५ दिनमा नै फोक्सो कालो भएपछि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोका साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेट आदिको प्रयोग रहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कणसमेत समावेश हुन्छन् ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकाले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

“वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्नुपर्ने हुन्छ । तत्काल यसका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने, विद्युतीय चुलो र सवारीसाधनको प्रयोग गर्ने, फोहर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दीर्घकालीनरूपमा व्यवस्थित सहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ । विज्ञप्तिमा स्वास्थ्यमा वायु प्रदूषणको प्रभावबारे सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्य गर्न सबै सरोकारवालाको निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो । रासस




भर्खरै