११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

मकै छोडेर सूर्यमुखी खेतीमा आकर्षित भए पाल्पाका किसान

मकै छोडेर सूर्यमुखी खेतीमा आकर्षित भए पाल्पाका किसान
अ अ+ अ-

पाल्पा । कुनै समय घर आँगनका डिल, वरपर, करेसाबारी, बगैँचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घर आँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् । 

मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्य बृद्धि हुदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ ।

रामपुर नगपालिका वडा नं ५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । घर अगाडिको खेतभरी पहेँलै सूर्यमुखी फूल्दा कृषि कार्य गर्दाको सबै थकान मेटिएको उहाँलाई अनुभूती हुन पनि थालेको छ । 

 उहाँ भन्नुहुन्छ, “घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आउँछ, अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको छ, हराभरा देख्दा मनका अनेकथरि पीडा सबै हराएर जान्छन्, मनमा आनन्दको अनुभूति हुन्छ ।” 

अहिले उहाँको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । 

यहाँ फूल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती बृद्धबृद्धाहरु सबै उमेर समुहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृष्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रुहरु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।

अहिले यहाँ दैनिक तीन सयभन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “खेतमा फूलेको फूलसँग ठूलो सङ्ख्यामा अवलोकन गर्ने, रमाउने भेटिन्छन्, विशेषगरी साँझपख भने सूर्यमुखीमा भीड लाग्ने गरेको छ, देख्दै आनन्द लाग्दछ, फूल्न पनि असाध्यै राम्रो फूलको छ” । 

उहाँले मकै बालीको उत्पादन लिँदै आउनुभएको पाँच रोपनी खेतमा यसवर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउनुभएको छ । कृषि ज्ञानकेन्द्रको रु छ लाख आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं ५ को बेझाड खेतमा करिब दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गाहरु पहिला भने यतिखेर मकैले भरिएका हुन्थे । 

आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिँचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । 

प्रति रोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेँलै सूर्यमुखी फूल्दा मनका पिरहरु खुशीमा परिणत भएका कृष्णकान्त पौडेल बताउनुहुन्छ । “राम्रै मकै उत्पादन हुने खेतमा सूर्यमुखीबाट अझ धेरै आम्दानी लिनका लागि मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउन शुरु गरेको छु, परीक्षणमै राम्रै फल लाग्यो अर्को वर्ष खेती बिस्तार गर्नेछु” उहाँले भन्नुभयो ।

तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकोले सूर्यमुखी खेतीलाई व्यावसायीक रुपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउनुहुन्छ ।

“मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, आफुले उत्पादन गरेको स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि व्यावसायीक तवरले नै खेती गर्न थालेका छौँ” उहाँले भन्नुभयो ।

सामान्य तरिकाले लगाउँदा पनि राम्रै फल दिएकाले यस खेतीप्रति कृषक सन्तुष्ट रहेको र अर्को वर्षको लागि व्यवस्थित ढंगले समयमा नै खेती गर्ने सोच राखेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताउनुभयो ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परीक्षणका रुपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउनुहुन्छ । 

रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभएको छ ।

 रम्भा गाउँपालिका वडा नं १ सघाहा बस्ने ऋषिराम अर्यालले बिगत चार वर्ष यता बजारको तेल उपभोग गर्नुभएको छैन । आफैले घरमा उत्पादन गरेको सूर्यमुखीकै तेल उपभोग गर्नुहुन्छ ।  उहाँले गतवर्ष दुई रोपनीमा लगाएको सूर्यमुखीको घरायसी प्रयोजन बाहेक प्रति लिटर रु ४५० का दरले चालिस हजारको तेल बिक्री गर्नुभयो । यो वर्ष चार रोपनीमा क्षेत्र बिस्तार गरी खेती गर्नुभएको छ । 
अहिले उहाँको खेतमा लगाइएको सूर्यमुखीको उत्पादन शुरु भएको छ । गाउँमै स्वस्थ तेल उत्पादन भएकाले माग बढ्न थालेपछि उहाँ यस व्यवसायमा हौसिनुभएको छ ।

“चार वर्षयता बजारमा खानेतेल किन्नु परेको छैन, गतवर्ष देखि बिक्री गर्नेगरी खेती गर्न थालेको छु, आफैँले उत्पादन गरेको तेल उपभोग गर्न थालेपछि हाम्रो परिवार स्वस्थ र फूर्तिलो बनेको छ, यो वर्ष चार रोपनीमा लगाएको सूर्यमुखी करिब नौ मुरीसम्म उत्पादन हुने अनुमान गरेको छु” अर्यालले भन्नुभयो ।

एक पाथी सूर्यमुखी प्रशोधन गर्दा डेढ लिटर तेल उत्पादन हुने उहाँ बताउनुहुन्छ । सूर्यमुखी खेती लगाउन थालेपछि बाँदर आतङ्क कम भएको  छ । उहाँले बाँदर आतङ्कले मकै बाली स्याहार्नै पाउनुहुन्नथ्यो । सूर्यमुखी लगाउन थालेपछि भने उहाँ बाँदरको समस्याबाट मुक्त हुनुभएको छ भने आयस्रोतका हिसाबले यसबाट मकैको दाँजोमा धेरै फाइदा लिनुभएको छ ।

निस्दी गाउँपालिकाका कृषक पनि सूर्यमुखीमा आश्रित हुन थालेका छन् । गाउँपालिकाको वडा नं ४ को मुढाबास र लामेदमारका कृषकले व्यावसायीक ढंगबाट सूर्यमुखी खेती गरेका छन् । मुढाबासमा आर्थिक वर्ष ०७५÷०७६ मा ११० रोपनी क्षेत्रफलमा सूर्यमुखी पकेट कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु एक लाख ५० हजार र आ.व.०७६÷०७७ मा लामेदमारमा ११२ रोपनी क्षेत्रफलमा रु दुई लाख वजेट सहयोगमा व्यावसायीक खेती थालनी गरिएको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ । गाउँमै प्रशोधन केन्द्रको व्यवस्था नहुदा यहाँ उत्पादन भएको सूर्यमुखी नवलपुरको अरुणखोला बजारमा पुगेर प्रशोधन गर्न कृषक बाध्य छन् ।

मुढाबास पकेट क्षेत्रका हर्षबहादुर सुनारीले सूर्यमुखी खेतीका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेपछि व्यसायिक रुपमा खेती गर्न थाल्नुभएको छ । बगनासकाली गाउँपालिकाले भने मौरीपालनलाई प्राथमिकता दिँदै गतवर्ष ३० रोपनी क्षेत्रफलमा सूर्यमुखी खेतीका लागि कृषकलाई बीउ वितरण गरेको थियो । मौरी चरनको लागि राम्रो हुने भएकाले पनि सूर्यमुखी खेतीमा कृषकले जोड दिने गरेको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनौट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको वजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।  

दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाल अर्याल बताउनुहुन्छ । कृषकले क्षेत्र बिस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञानकेन्द्रले लगानी गर्ने उहाँको भनाई छ । 

यसवर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञानकेन्द्रले जनाएको छ । कुनै समय घर आँगनका वरिपरी, करेसाबारीमा सोखका रुपमा लगाइने गरे पनि पछिल्लो समय भने कृषकले व्यावसायीक रुपमा खेती शुरु गरेका छन् । मौरी चरनका लागी सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारणले व्यावसायीक रुपमा खेती गर्न थालेका हुन् ।

सौन्दर्यताका लागि केही बोट आँगनीको डिल, छेउछाउमा लगाउँदै आइएपनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायीक रुपमा खेती गर्न थालेको पाइन्छ । ठूलो क्षेत्रमा खेती गरेको खण्डमा यसको बजार राम्रो रहेको पनि किसानको अनुभव छ । 

एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।

 सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ वियाँबाट तेल आउने भएकाले व्यावसायीकतातर्फ कृषक लागेका हुन् ।  खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महिना फूल फूल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छोडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् । सुशीला रेग्मी /रासस