६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका



अ+ अ-

ढोरपाटन । एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।

स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ ।

बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६/०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ ।

हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि रु एक करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम सुरु भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि रु ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो ।

गौतम भन्नुहुन्छ, “दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले दुई वटा सडकलाई स्तरोन्नति गरिरहेका छौँ, यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन्, अहिले काम सुरु भएको छ, सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौँ”, हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ ।

यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ मा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई/दुई लाख, अर्थमन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दैनिकी फेरिदिएको छ ।

स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौँ स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउनुहुन्छ । उहाँले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताउनुभयो । “पहिले सडक थिएन, हामीहरु पैदलयात्रा गथ्र्यौं, अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौँ, बाटा निकै सानो छ, गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो, अब जोखिम मोलेर हिँड्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “गाउँमा सडक आएपछि धेरै सजिलो चाहीँ भएको छ, बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ, सामान पनि गाडीमा ल्याउने गरेका छौँ, पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।”

वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने छ । गाउँमा सडक आएपछि आफूहरुको दैनिकी नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउनुहुन्छ ।रासस