७ मंसिर २०८१, शुक्रबार
,
Latest
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नु परेको सास्ति बारे डा.न्यौपानेको बकपत्र



अ+ अ-

आज जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम (बसुप) परासीमा म प्रमुख जिल्ला अधिकारीको सम्मुख हाजिर हुन बाध्य भएँ ।

कारण थियोे, म मेरो राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित शाखामा बिहान १०:०० बजे पुगेको थिएँ । बिस्तारै अन्य सेवाग्राहीहरू पनि पुग्नुभयो । १०:३० बजिसक्यो, एकजना पनि कर्मचारीहरूको उपस्थिति भएको थिएन । सेवाग्राहीहरू सल्बलाउन थाल्नुभएको थियोे । इलेक्ट्रोनिक हाजिरीमा केही समय लागेको होला भन्ने लागेको थियोे मलाई । मैले कर्मचारीहीन कुर्सीहरूका फोटो खिचेँ । १०: ४५ बज्यो ।

अझै पनि कुनै कर्मचारीको उपस्थिति भएको थिएन । ११: ०० बज्यो । पत्रकार गोपी ज्ञवालीलाई फोन गरेँ, उहाँ काठमाडौंमा हुनुहँदो रहेछ । अब त मेरो पनि धैर्यको बाँध टुट्यो । यही कामका लागि म हिजो पनि त्यहाँ पुगेको थिएँ । पुरानो नागरिकताको प्रमाणपत्र भएकोले जन्ममिति उल्लेख थिएन । सम्बन्धित शाखाकी महिला कर्मचारीले जन्ममिति खुलेको प्रमाणपत्र लिएर आउन आग्रह गर्नुभयो । उहाँको सुझावलाई आत्मसात् गरेर आज जन्ममिति खुलेको प्रमाणपत्र लिएर गएको थिएँ म । उहाँ भने उपस्थित हुनुभएको थिएन ।

मैले सामाजिक सञ्जालमा सम्बन्धित शाखामा ११:०० बजेसम्म कोही उपस्थित नभएको उल्लेख गरेर प्रमुख जिल्ला अधिकारीज्यूको ध्यानाकर्षण होस् भनी एउटा स्टाटस पोस्ट गरेँ ।

ठिक ११: ०१ बजे एकजना पुरुष कर्मचारीको उपस्थिति भयो । उहाँले उपस्थित भएपछि तुरुन्तै काम सुरु गर्नुभयो । मेरो पालो २ नम्बरमा आयो । मेरो ई। जन्ममिति १८-०६-१९५८ रहेको प्रमाणपत्र पेस गरेँ । उहाँले मेरो वि. सं. जन्ममिति सोध्नुभयो । मैले ४ असार २०१५ हो भनेँ । उहाँले जोडघटाउ गर्नुभयो । मिति मिलेपछि मेरो काम छिटोछरितो ढङ्गले गरिदिनुभयो ।अनि कागज दिएर ७ नम्बरमा पठाउनुभयो मलाई । म त्यहाँ झ्यालबाहिर तातोमा लाइनमा उभिएको थिएँ ।

एकाएक एउटा कर्मचारी चर्को स्वरमा घनश्याम परिश्रमी को हो ? भन्दै आउनुभयो , मैले म हुँ भनेर जानकारी गराएँ । उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो । उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयो र भित्र जान भन्नुभयो । प्रहरी पनि पछि पछि लाग्नुभयो । म अचम्म मान्दै थिएँ ।

मलाई प्रमुख जिल्ला अधिकारीज्यूको कुर्सी अगाडि हाजिर गराइयो । म सोफामा बसेँ, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई प्लास्टिकको कुर्सीमा बस्न आदेश दिनुभयो । अनि यसपछि कर्मचारीले थर्काउन थाल्नुभयो मलाई, मैले पोष्ट गरेकोे विषयलाई लिएर । प्रमुख जिल्ला अधिकारीज्यूले उहाँलाई नै सपोर्ट गर्दै मलाई सामाजिक सञ्जालमा यस्ता कुरा हाल्न नहुने तपाईंले, मलाई भन्नुपर्ने थियोे भन्नुभयो ।

मैले आफ्नो योग्यता र विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक भएको जानकारी पनि गराएँ । कर्मचारीले त मेरो योग्यता र क्षमताको खिल्ली नै उडाउनुभयो । जो चोर उसैको ठुलो स्वर भनेझैं गरेर उहाँले मलाई थर्काउन नै खोज्नुभयो । मैले तपाईंहरूलाई असजिलो हुन्छ भने म पोस्ट हटाउँछु भनेँ र तत्काल हटाएँ पनि । मलाई लागिरहेको थियोे, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई धन्यवाद दिनुहुनेछ । तर त्यसो भएन, उहाँले आफ्ना कर्मचारीको बचाउ गर्नुभयो ।

उहाँको इजलासबाट मुक्त भएपछि म पुन: ७ नम्बरको कक्षबाहिर तातो घाममा लाइन उभिएँ, पालो आएपछि निर्बाध मेरो कागजमा सम्बन्धित अधिकृतले हस्ताक्षर गर्नुभयो । त्यो लिएर म पुन: सम्बन्धित विभागमा पुगेँ । किन ढिलो भयो तपाईंको काम ? कर्मचारी सोध्दै हुनुहुन्थ्यो । मैले यी सब कुरा बताइनँ उहाँलाई । उहाँले अन्तिम हस्ताक्षर गरेर मलाई राष्ट्रिय परिचयपत्रको अस्थायी निस्सा दिनुभयो । उहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै म खुसी र विस्मात् दुवैलाई अनुभूत गर्दै बाहिरिएँ ।

मैले लाखभन्दा बढी विद्यार्थीलाई पढाएँ जीवनमा । भाषा साहित्यका क्षेत्रमा आजसम्म सेवा योगदान गर्दै छु । मैले जहिल्यै, भ्रष्टाचार, कामचोरी प्रवृत्तिका विरुद्ध लेख्दै आएको छु, लेखी पनि रहनेछु ।

पञ्चायतकालमा अनेकौं अपमान सहनुपर्थ्यो प्रहरी प्रशासनबाट । लोकतन्त्रमा कर्मचारीतन्त्र यस्तो हुन्छ भन्ने मैले ठानेको थिइनँ । सत्य कुरा सार्वजनिक गर्नु के मैले गरेको अपराध थियोे र ? आज जीवनमा सबैभन्दा नमिठो अनुभूति गरेको दिन भएको छ मेरो ।

यसले एउटा महत्त्वपूर्ण लेख जन्माउनेछ अवश्य पनि । मैले फेरि यही स्टाटसका कारण प्रमुख जिल्ला अधिकारीज्यूका सामु हाजिर हुनु पनि पर्ला । तर गलत कुरालाई ढाकछोप गर्न मेरो विवेकले मान्दैन, मेरो नैतिकताले जान्दैन ।

डा. घनश्याम न्यौपाने लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका आजीवन सदस्य हुनुहुन्छ ।