२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन उपनिर्वाचन: केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा



अ+ अ-

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् । रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापतिसहितका शीर्षनेता केन्द्रित भएका छन् ।

दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो ।

उहाँका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन आएर फर्कनुभएको छ । उहाँ फेरि आउने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा चितवन आउँदै हुनुहुन्छ । सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्कनुभएको छ । सहमहामन्त्री जीवन परियार आउँदै हुनुहुन्छ ।

केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिनुभएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई सङ्गठित गर्ने काममा समेत केन्द्रीय नेता जुट्नुभएको छ । केन्द्रीय नेता नै टोल–टोलमा पुगेर भोट माग्ने काममा खटिनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सभापति खनालले बताउनुभयो ।

एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामा खटिनुभएको छ । ‘मिसन ग्रास रुट’को जिल्लाको नेतृत्व गरेर आउनुभएका उहाँ चुनावी अभियानमा टोल–टोलमा पुग्नुभएको छ । एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतका नेता यहाँ खटिनुभएको छ । सचिव गोकर्ण विष्ट आउँदै हुनुहुन्छ भने यही वैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउने कार्यक्रममा रहेको उहाँले बताउनुभयो । अन्य नेता पनि चुनावी अभियानका लागि यहाँ आउने जानेक्रम भइरहेको छ ।

रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता यहाँ चुनावी अभियानमा जुट्नुभएको छ । सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता यहाँ चुनावी अभियानमा जुट्नुभएको छ । निजी सचिव सिग्देलका अनुसार अन्य नेता पनि आउने जाने भइरहेको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ । सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन् । उपनिर्वाचमा चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार रहनुभएको छ । रासस