२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई परीक्षा देशभर एकसाथ सुरु



अ+ अ-

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेका थिए । कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार दुई सय २७ जना रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।”

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ छोराछोरीले जापानबाटै परीक्षा दिँदै छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एउटा शैक्षिक संस्थाबाट उनीहरु एसइई परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गराउन परीक्षा बोर्डले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने छन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले व्यवस्थापन तथा अनुगमन गर्नेछन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । चैत २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । रासस