• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट



काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले आज भेटवार्ता गरेका छन् ।

सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति समक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको थियो ।

भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताको लागि आवाज उठाउँदै आएपनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षा सम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउनका लागि सकारात्मक पहल गरिदिन आग्रह गर्नुभएको थियो । अध्यक्ष आचार्यले पटक पटकको प्रयासबाट पनि नागरिकताको विषय नटुङ्गिनु दुखद् भएको भन्दै उक्त विषय सम्बोधनका लागि सबै निकायबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका उपाध्यक्ष आर के शर्माले श्रमिकको योगदानलाई मुलुकले यथेचित सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै राज्यका सर्वोच्च निकायबाट पनि त्यसका लागि सकारात्मक रुपमा पहल हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका युवा संयोजक अब्दुल बासिदले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनतम मापदण्ड हटाउन सहयोग गर्न उपराष्ट्रपति समक्ष आग्रह गर्नुभयो ।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सर्वोच्च निकायको समर्थन आवश्यक रहेको बताउनुभयो ।

भेटमा आइसीसी उपाध्यक्ष दुर्गा उपाध्यक्ष, सचिव गोविन्दप्रसाद गौतम, पूर्वआइसीसी सदस्य राम बेलबासे, क्षेत्रीय संयोजक (मध्यपूर्व) मनोजकुमार श्रेष्ठ, भगिरथ योगीलगायत विभिन्न मुलुकका प्रतिनिधिहरु र सङ्घका प्रमुख कार्यकारी अधिकृत रवीकिरण अधिकारीको उपस्थिति रहेको थियो । रासस