• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट ★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा ★   सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो? ★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

पाहाँचह्रेः पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूल भट्टको पूजा



काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गरेका छन् ।

प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीका दिन यो पूजा गरिन्छ । पाहाँचह्रे पर्वका अवसरमा गरिने पूजामा पशुपतिनाथका चारै जनाको भट्टको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौँ उपत्यकाका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट आइतबार सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनू भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।

यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आइतबारदेखि तीनदिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दूर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरूपमा सहभागी हुने गरेको उनले सुनाए ।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाका राति छोरा चन्द्रविनायक कहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चावहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दूर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिने परम्परा छ ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । जात्राका क्रममा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ । चैत ९ गते बिहीबार यो जात्रा समापन हुन्छ ।

यो जात्राका लागि पशुपति क्षेत्रलाई झकिझकाउ बनाइएको छ । जात्रामा पशुपति क्षेत्रका साथै स्वदेश एवं विदेशका पर्यटकको पनि आगमन हुने गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले जानकारी दिए । रासस