• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ: उपाध्यक्ष भुसाल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना गरेको छलफलमा पूर्वमन्त्री भुसालले भन्नुभयो, “अव्यस्थित बसाइँसराइका कारण खानेपानीजस्ता आधारभूत अधिकार उपलब्ध गराउनका लागि समस्या पैदा हुँदै गएको छ । स्वच्छ पिउने पानी पुर्‍याउन सकिएको छैन ।”

उहाँले आमजनताको मनोविज्ञानलाई बुझेर मात्र नीति निर्माण गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भन्नुभयो, “मौलिक हक व्यवस्था गरेर र नीति बनाएर मात्र पुग्दैन, जनताले अधिकार पाएका छन् कि छैनन् भन्ने विषय मुख्य हो, त्यसका लागि उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने हुन्छ ।”

विश्वका ठूला शक्ति राष्ट्रका कारण साना मुलुकले जलवायु परिवर्तनका विकराल समस्या भोग्नुपरेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले नेपालका राजनीतिक दल, सङ्घसंस्थाले पनि यस्ता मुद्दालाई आफ्नो मुख्य बनाउनुपर्नेमा जोड दिनुभयो । पानीको स्रोत संरक्षण गरेर जनतालाई स्वच्छ पानी उपलब्ध गराउनका लागि व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी संस्था एकीकृत भएर काम गर्नुपर्ने उपाध्यक्ष भुसालको भनाइ छ ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव डा जगदीश्वर कर्माचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायतले पानीको सही तवरले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वच्छ खानेपानीको समस्या समाधान गर्नका लागि नीतिगत तवरले दीर्घकालीनरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउन थालिएको हो । नेपालमा पनि यही दिवसको अवसर पारेर पानीसम्बन्धी विविध कार्यक्रम गरिँदैछ । रासस