• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली ★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ: उपाध्यक्ष भुसाल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना गरेको छलफलमा पूर्वमन्त्री भुसालले भन्नुभयो, “अव्यस्थित बसाइँसराइका कारण खानेपानीजस्ता आधारभूत अधिकार उपलब्ध गराउनका लागि समस्या पैदा हुँदै गएको छ । स्वच्छ पिउने पानी पुर्‍याउन सकिएको छैन ।”

उहाँले आमजनताको मनोविज्ञानलाई बुझेर मात्र नीति निर्माण गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भन्नुभयो, “मौलिक हक व्यवस्था गरेर र नीति बनाएर मात्र पुग्दैन, जनताले अधिकार पाएका छन् कि छैनन् भन्ने विषय मुख्य हो, त्यसका लागि उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने हुन्छ ।”

विश्वका ठूला शक्ति राष्ट्रका कारण साना मुलुकले जलवायु परिवर्तनका विकराल समस्या भोग्नुपरेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले नेपालका राजनीतिक दल, सङ्घसंस्थाले पनि यस्ता मुद्दालाई आफ्नो मुख्य बनाउनुपर्नेमा जोड दिनुभयो । पानीको स्रोत संरक्षण गरेर जनतालाई स्वच्छ पानी उपलब्ध गराउनका लागि व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी संस्था एकीकृत भएर काम गर्नुपर्ने उपाध्यक्ष भुसालको भनाइ छ ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव डा जगदीश्वर कर्माचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायतले पानीको सही तवरले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वच्छ खानेपानीको समस्या समाधान गर्नका लागि नीतिगत तवरले दीर्घकालीनरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउन थालिएको हो । नेपालमा पनि यही दिवसको अवसर पारेर पानीसम्बन्धी विविध कार्यक्रम गरिँदैछ । रासस