१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी



अ+ अ-

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाउनुभएका उहाँ राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित हुनुहुन्थ्यो । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उहाँ विज्ञान र गणित विषयको शिक्षक हुनुहुन्थ्यो ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुनुहुन्छ ।

राजनीतिका क्रममा उहाँको भेट उपेन्द्र यादवसँग भएपछि उहाँ २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो । त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिनुहुन्छ ।

उहाँ विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुभएका उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत हुनुहुन्छ ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसक्नुभएको छ । भीष्मराज ओझा/रासस