६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा गरिने



अ+ अ-

काठमाडौँ । चैत्र कृष्ण अष्टमीका दिन मङ्गलबार पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दुःदुःच्याँ च्याँ भनिने जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जात्रामा आमाको दूध खाने बालबालिका पनि हेर्न आउनु भनी निमन्त्रणा गरिने भएकाले दुःदुःच्याँ च्याँ भन्ने गरिएको हो । निमन्त्रणका लागि बागमती पारि बस्नुहुने पशुपतिनाथका भट्ट श्रीरामकारान्तर भट्ट जानु हुनेभएको छ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले लिच्छवीकालदेखि नै पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा चैत ४ गते शनिबार दिउँसो ४ बजेदेखि सुरु हुने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु हुने जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिन्छ । बज्रेश्वरी जात्रा समापन हुनेबित्तिकै वत्सलेश्वरीको जात्रा आरम्भ हुन्छ ।

वत्सलेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको पशुपति क्षेत्रको जात्राका विषयमा विद्यावारिधि शोध गरिरहनुभएका कोषका कर्मचारी वरुण खतिवडाले जानकारी दिनुभयो ।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पुजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा यस अवसरमा नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत ८ गते बुधबार राति छोरा चन्द्रविनायक कहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा चैत ९ गते बिहीबार सकिन्छ ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा जाने गरेका छन् । यस अवसरमा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राख्ने गरिएको छ । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ । रासस