• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

उपराष्ट्रपतिको निर्वाचन: फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयनपत्र दर्ता गर्न अधिकृतलाई निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

आयोगको शुक्रबार बरेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको छ ।

आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ९५० मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकोले बिहीबार सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने निर्देशन दिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय फागुन २७ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ । मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आयोगले गठन गरेको निर्वाचन अधिकृतको कार्यालयले फागुन २७ गते नै दिउँसो २ बजेदेखि ३ बजे प्रकाशित गर्नेछ ।

उम्मेदवारको विरोधमा फागुन २७ गते दिनको ३ बजेदेखि साँझ ६ बजेसम्म दिन पाइने छ । उक्त मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी फागुन २८ गते दिउँसो १२ बजेसम्म निर्णय लिइने कार्यक्रम छ ।

तत्पश्चात कार्यालयले फागुन २८ गते दिउँसो १२ बजेदेखि १ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय फागुन २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली फागुन २८ गते अपराह्न ४ बजेदेखि ५ बजेसम्म प्रकाशन गर्नेछ ।

चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने अवधि तोकिएको छ ।