• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सैंबु ब्याडमिन्टन सर्कलको उपाधि हेम र खिमको जोडीले जिते



ललितपुरः सैंबु ब्याडमिन्टन सर्कलद्वारा आयोजित तेस्रो आन्तरिक पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि हेमबहादुर गुरुङ र खिमबहादुर श्रीसको जोडीले जितेको छ ।

ललितपुर महानगरपालिका वडा न. १८ को मगरगाउँमा आयोजित उक्त प्रतियोगितामा द्वितीय स्थान सुरज थापा र सुरेश तामाङ तथा तृतीय स्थान शंकर थापा र ओमबहादुर खड्काको जोडीले जितेको थियो ।

ललितपुर महानगर वडा १८ को सहयोगमा आयोजित यो प्रतियोगितामा ३० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता यही फागुन १३ देखि २४ गतेसम्म आयोजना गरिएको थियो ।

प्रतियोगिता समापनका अवसरमा पुरस्कार, पदक र प्रमाणपत्र वितरण गर्दै ललितपुर महानगरपालिका वडा नं १८ का वडाध्यक्ष दामोदर खड्काले खेलकुदले व्यक्ति, समाज र सिंगै विश्वलाई स्वस्थ राख्न मद्दत गर्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई खेलकुदमा बढीभन्दा बढी सहभागी गराउन खेलस्थलको सुधार गर्नेतर्फ वडाले ध्यान दिइरहेको बताउनुभयो ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष पूर्णभक्त चित्रकारले सैंबु ब्याडमिन्टन सर्कललाई संघमा आबद्ध गरी प्राविधिक सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमका सभापति एवं समाजसेवी शंकर थापा मगरले मगरगाउँ वडाकै केन्द्रमा रहेको बताउँदै खेलकुदमा स्थानीय सहभागिता बढाउन थप प्रयास भइरहेको र यसमा सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रतियोगिताका रेफ्री राजाराम थापाले आफूले प्राप्त गरेको पारिश्रमिकमा रु. ५ हजार थप गरी ब्याडमिन्टन सर्कललाई प्रदान गर्नु भएको थियो ।