काठमाडौँ । नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।
सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।