३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासले चार स्वर्ण जितिन्



अ+ अ-

गलेश्वर । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।

सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना ।

म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताए ।

रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उनले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् ।

रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदै भनिन् ।

माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् ।

रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको मङ्गला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन् । “स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ”, उनले भने ।

रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन् ।