७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै



अ+ अ-

काठमाडौँ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए । 

सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ ।

जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।

सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने बताएका छन् । ‘अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ,’ बैठकमा ओलीले भने, ‘भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिइङ गरिरहेका छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो । प्रधानमन्त्रीले तीन दिनभित्र खोप आउने बैठकमा जानकारी गराएपछि मन्त्रालयले हतारिँदै शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीले गत असार २ मा कोभिड–१९ निर्देशक समितिको बैठकमा चीनबाट ४० लाख खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने जानकारी गराएका थिए तर वायुसेवा निगमले तीनपटकमा ३० लाख खोप ल्याउन जहाज पठाउन लागेको जनाएको छ ।

‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ । जहाजले शुक्रबार १० लाख मात्रा खोप ल्याउने महानिर्देशक पौडेलले बताए । दोस्रो चरणमा असार ३१ मा जहाज पठाएर साउन १ मा १० लाख डोज ल्याइनेछ । तेस्रो चरणमा साउन ७ मा जाने जहाजले भोलिपल्ट अर्को १० लाख डोज खोप ल्याउनेछ ।

खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए । चीनबाट खरिद गरेको बाहेक गाभी कोभ्याक्स सुविधाको खोप पनि छिट्टै प्राप्त हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनु अघिसम्म खोप ल्याउन लागेको कुरा बेखबरजस्तै गर्ने स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी खोप भण्डारण स्थलको व्यवस्थापनमा जुटेका छन् । ‘कहिले खोप आउने भन्ने कसैलाई जानकारी दिएका थिएनन्, प्रधानमन्त्रीज्यूले बोलेपछि अब भण्डारण कहाँ कसरी गर्न सकिन्छ भनेर तयारीमा जुटेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘टेकुस्थित केन्द्रीय भण्डारणमा मात्रै अटाउन नसके सिधै प्रदेशमा लैजाने व्यवस्था मिलाउँदै छौं ।’ १० लाख मात्रासम्म केन्द्रीय भण्डारणमा राख्न सकिने विभागले जनाएको छ ।

चीन र भारतबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र सरकारले भारतबाट खरिद गरेको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । यसमध्ये २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ६ सय ३५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् । पहिलो मात्रा लगाउनेमा १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ७६ हजार ३ सय २८ जनाले भेरोसेल खोप लगाएका छन् । दोस्रा मात्रा लगाउनेमा ४ लाख ५९ हजार ६ सय २५ जनाले कोभिसिल्ड र २ लाख ९८ हजार १० जनाले भेरोसेल खोप लगाएका छन् । चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

सरकारले जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ बाट दोस्रो मात्रा खोप लगाइने बताए ।, समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।