• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सीआईबीले दियो पृथ्वी शाह समूहविरुद्ध ४ वटा मुद्दा चलाउन सुझाव



काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ ।

सीआईबीले शाह, उनका भाइ विजयविक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।

पृथ्वीबहादुर शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिइएको छ । त्यस्तै विजयविक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिइएको छ । सीआईबीले ठगी र संगठित अपराधमा शाहसँगै पक्राउ परेका ७ जना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन भनेको छ ।

सीआईबीले शाहलाई अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सीआईबीमा २४ वटा उजुरी परेको थियो ।

सीआईबीका अनुसार पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठितरुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा उनीहरुले कम्पनीको उद्देश्यविपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्र्याउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापति गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत ब्यांक एकाउन्टमा पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएका सीआईबीले जनाएको छ ।

शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।