२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने



अ+ अ-

काठमाडौँ । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

उहाँले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताउनु भयो ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिला बिरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताउनु भयो । सरसफाई निर्देशिका जारी गर्न लागेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वायुसेवा निगममा अनलाइन टिकट हामीले गरेका छौँ । सरसफाई र व्यवस्थापकिय पक्षमा खासगरी एयरपोर्टहरुमा हामीले धेरै सुधार ल्याएका छौँ । हवाई सुरक्षा सम्बन्धी सबै मातहतका निकायहरुमा पटक–पटक निर्देशन दिएका छौँ र केही सुधारका कामहरु पनि भइराखेको छ ।

लुम्बिनी गुरुयोजनाको सम्बन्धमा छानविन समिति नै बनाएर छानबिन समितिले प्रतिवेदन पनि ल्याइसकेको छ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको लागि ५ समिति अध्ययन समिति गठन गरिसकेका छौँ आज नै । पशुपति सरसफाइ अभियान अब ३ महिना प्रत्येक शनिवार मातहतको सबै कर्मचारीहरुसहित मेरो अध्यक्षतामा र मन्त्रालयको सचिव त्यसको सदस्यसचिव रहने गरी ३ महिने सरसफाई अभियान आउने शनिवारदेखि सञ्चालन गर्नेछौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका कुराहरु हामीले सुनिराखेका छौँ । त्यो घटना घटेको कुरा विभिन्न सार्वजनिक मिडियाबाट हामीले जानकारी पनि लिइरहेका छौँ । त्यसका निम्ति हामी महिला बिरुद्धको दुव्र्यवहार उजुरी लिने स्थायी युनिट हामी त्यहाँ बनाउने छौँ ।

सरसफाइ संस्थागत गर्न हामीले निर्देशिका जारी गर्दैछौँ । ७ फेब्रुअरीमा ग्राउण्डेड भएको हाम्रो ट्वीनेटर जहाजको छानबिन उपसमिति बनाएका छौँ । हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा पठाएको छौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको सम्बन्धमा कसरी यसलाई सञ्चालन गर्ने, यसको सम्बन्धित निकायसम्म हामीले बिजनेस प्लान मागिराखेका छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक पहल शुरु नै गरिसकेका छौँ । भरतपुर विमानस्थल विस्तार गर्ने काम प्रारम्भ गरेका छौँ । मन्त्रालयमा २४ सै घण्टा पर्यटकलाई सेवा दिनेगरी नमस्ते पर्यटक सेवा चलाउने तयारीमा छौँ ।’

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उहाँले बताउनु भयो । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उहाँको भनाई छ । मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताउनु भयो । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।