१३ श्रावण २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः सातदोबाटो र मछिन्द्र फाइनलमा



अ+ अ-

काठमाडौँ । सातदोबाटो युथ क्लव र मछिन्द्र फुटबल क्लवले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लवले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मछिन्द्रले आयोजक केपी ओली फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यससँगै यी दुई टोलीबीच उपाधिका लागि प्रतिष्पर्धा निश्चित भएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले केपी ओली फुटबल क्लवलाई पराजित गर्ने क्रममा १९ औं मिनेटमा विमल घर्ती मगरले गरेको गोल नै निर्णायक बनेको हो । विमलले गरेको उक्त अग्रता नै उपाधि नजिक पुग्न निर्णायक बन्यो । विमल ह्यामस्ट्रिङको समस्या भोग्दै निर्धारित ९० मिनेट अगावै मैदान बाहिरिएका थिए ।

यस्तै यसअघि भएको पहिलो सेमिफाइनल खेल निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा सातदोबाटो सफल भएको हो । आईतवार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ सोमबार पुनः खेलाइएको थियो ।

पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गर्दा दीपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गरेका थिए । आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे । सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाउँदा विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।