१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक: प्रधानमन्त्री (पूर्णपाठसहित)

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक: प्रधानमन्त्री (पूर्णपाठसहित)
file
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताउनुभएको छ।

बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुन: ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो।”

 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:

ज्ञान–विज्ञानको केन्द्र एवं तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनकनगरी जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ। सर्वप्रथम, यस सभामा उपस्थित हुनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु।
राजर्षि जनक विश्वविद्यालयको यस छैठौँ सभाले यहाँहरू सबैका बीच आर्थिक वर्ष २०७९र८० को कार्यक्रम र बजेटमा रचनात्मक छलफल गरी विश्वविद्यालयको आगामी कार्यदिशा तय गर्नेछ। यस अवसरमा यस राजर्षिजनक विश्वविद्यालयका उपकुलपति एवं सम्पूर्ण सभासद्हरूलाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई यस क्षेत्रकै एक उत्कृष्ट उच्च प्राज्ञिक संस्थाको रूपमा विकास गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

प्राचीनकालमा जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए आज त्यही पवित्र भूमिमा ज्ञानको दीप प्रज्ज्वलित गर्ने पुनीत उद्देश्यले उनै राजर्षि जनकको नाममा विश्वविद्यालय खोलिनु स्वयंमा प्रशंसनीय कार्य हो। यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुन: ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो।

मिथिला प्रदेश जनक दर्शन, संस्कृति र मिथिला कला तथा साहित्यको केन्द्र हो। यस तथ्यलाई मनन गरी यस विश्वविद्यालयले जनक दर्शन र संस्कृति तथा मैथिली कला–साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न पनि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मेरो मान्यता छ।

कुनै पनि मुलुकको विकासको प्रमुख आधार भनेकै दक्ष जनशक्तिको उत्पादन र तिनको समुचित उपयोग नै हो। विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख थलो हो। अत: विश्वविद्यालयहरूले मुलुकको आवश्यकताअनुसार स्तरीय दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पुर्‍याउनुपर्दछ।

सरकारको उच्च शिक्षासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ। यस कुरालाई आत्मसात गरी यस विश्वविद्यालयले सर्वसुलभ मूल्यमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहन आवश्यक छ।

मुलुकमा विश्वविद्यालयहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो। यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ। तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ। यस कुरालाई मध्यनजर गर्दै यस विश्वविद्यालयले आफूलाई गुणस्तरको क्षेत्रमा अब्बल साबित गर्नुपर्दछ। त्यसो भए मात्र यहाँ विद्यार्थीहरूको आकर्षण बढ्दछ, हाम्रो जनशक्ति राष्ट्रको विकास र समृद्धिको सारथि बन्न सक्दछ। साथै, विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बाह्य बजारमा प्रतिस्पर्धा गरी आफूलाई उत्कृष्ट साबित गर्न सक्दछन्। विद्यार्थीहरूलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पुर्‍याउने उच्च शिक्षाको प्रवद्र्धनमा यस विश्वविद्यालयले जोड दिनुपर्दछ।

यस विश्वविद्यालयको आफ्नै विशिष्टता र पहिचान छ। त्यसलाई जोगाउँदै आफूलाई अरू विश्वविद्यालयभन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। यस क्रममा विश्वविद्यालयले नवीनतम प्राविधिक ज्ञान, नयाँ विकास भइरहेका शैक्षिक आयामहरूलाई प्रवर्धन गर्ने तथा समाज र मानव जीवनका लागि उपयोगी विषयहरूमा ध्यान केन्द्रित गर्दै आफ्ना पाठ्यक्रमहरूको निर्माण तथा शैक्षिक कार्यक्रमहरूको सञ्चालन गरी अघि बढ्न उपयुक्त हुन्छ।

यसै सन्दर्भमा राजर्षिजनक विश्वविद्यालयले आफ्नो १५ वर्षे रणनीतिक योजना तयार गरी सोही आधारमा विश्वविद्यालयको प्राज्ञिक क्रियाकलाप तथा भौतिक संरचनाहरूलाई अगाडि बढाउन खोजेको जानकारी पाउँदा मलाई प्रसन्नताको अनुभूति भएको छ।

यस विश्वविद्यालयले स्थापनाको ५ वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा यसको सराहना गर्दै सफलताको शुभेच्छा प्रकट गर्दछु, साथै विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि प्राच्य दर्शन विषयमा एम।फिल।को कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारीले विश्वविद्यालय शैक्षिक प्राज्ञिक क्षेत्रमा उल्लेखनीय कार्यमा समर्पित भइरहेको प्रमाणित हुन्छ।

विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न गराउन असुविधा भएको हुँदा विश्वविद्यालयले उपयुक्त जग्गाको पहिचान गरी स्वामित्व लिन प्रयासरत रहेको छ, यसमा नेपाल सरकारबाट हुन सक्ने सहयोग विश्वविद्यालयलाई प्राप्त हुने विश्वास दिलाउँछु।

वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ। संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ। सरकारको यस प्रयासमा यहाँहरू लगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु।

अन्त्यमा, राजर्षि जनक विश्वविद्यालयले आगामी दिनमा आफ्ना प्राज्ञिक तथा भौतिक विकासका कार्यक्रमहरूलाई थप गति दिई आफूलाई ज्ञान–विज्ञानको अपूर्व सङ्गमस्थल र एक आदर्श विश्वविद्यालयको रूपमा स्थापित गर्न सफलता हासिल गर्नेछ भन्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दछु, धन्यवाद।