११ मंसिर २०८१, मंगलवार
,
Latest
एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई



अ+ अ-

धनुषा । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताए ।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पाँचौं संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ ।

यस्तै बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिए ।

पाँचवटा संस्करणमा चारवटाको उपाधि आर्मीको पोल्टामा गएको छ । पहिलो संस्करण आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली आर्मीले जितेको छ । प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले पुरस्कार तथा ट्रफीसहित प्रमाणपत्र वितरण गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो । प्रतियोगितामा १३ खेल भएको थियो । नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेका थिए । रासस