२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई



अ+ अ-

धनुषा । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताए ।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पाँचौं संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ ।

यस्तै बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिए ।

पाँचवटा संस्करणमा चारवटाको उपाधि आर्मीको पोल्टामा गएको छ । पहिलो संस्करण आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली आर्मीले जितेको छ । प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले पुरस्कार तथा ट्रफीसहित प्रमाणपत्र वितरण गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो । प्रतियोगितामा १३ खेल भएको थियो । नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेका थिए । रासस