• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही



त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् ।

यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएपछि उत्साही बनेका हुन् ।

जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा पर्यटकको सङ्ख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो ।

“पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो ।

नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जिप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो ।

“हामी खुसी छाँै, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ”, अध्यक्ष महतोले भन्नुभयो । उहाँका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ ।

यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंँडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।

शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताउनुभयो ।

नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँच वटा जिपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ ।

निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । रासस