१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के ईश्वर छ ?



अ+ अ-

संसारमा ईश्वर छ, ईश्वर छैन, ईश्वर छ किन छैन निश्चय नभएकाहरू गरी तीनथरिका मानिसहरु छन् ।

यो परम्परा धेरैअगाडिदेखि चल्दै आइरहेको छ र युगौँसम्म नचल्ला भन्न सकिँदैन । यो स्थिति आउनुको मूलकारण हो, ईश्वरलाई आँखाले नदेख्नु । आँखा, जिभ्रो, कान, नाक, छालले बाहिरी वस्तुको ज्ञान गर्छौ । मीठो, तातो, सुगन्धित, सुन्दर आदि ज्ञान इन्द्रियले गर्छन् । ईश्वरलाई इन्द्रियले थाहा पाउँदैन वा त्यसबारे सूचना दिन सक्दैन । अहिलेको पुस्ताले प्रविधि र प्रत्यक्ष तथ्यमा विश्वास गर्छन् ।

ईश्वरलाई शास्त्र र साधनाबाट, श्रद्धा र भावबाट ईश्वर चिन्छ । जसरी सूक्ष्म कीटाणु, दया, माया, शोक, दुःखकष्ट आदिलाई आँखाले नदेखे पनि अनुभव गर्न सक्छौँ । ईश्वर छ किनकि संसारमा जुन वस्तु छैन त्यसको नामकरण हुनै सक्दैन ।

पाणिनिले भनेका छन्– प्राप्तौ सत्यां निषेधः अर्थात् प्राप्त भएको वस्तुलाई मात्र छैन भन्न सकिन्छ, नभएको वस्तुको निषेध हुँदैन । छैन भन्नको लागि पहिलो वस्तुको अस्तित्व हुनुपर्छ अनि मात्र होइन, छैन, माले, मोरु, नास्ति, थिएन, नोथि∙ भन्न सकिन्छ । जस्तै मेरो परबाजे, हजुरबुबा, ठूलोबुबा हुनुहुन्न भन्ने विषयले प्रष्ट बताउँछ कि कुनै बेला उहाँहरू हुनुहुन्थ्यो । उहाँहरुको मृत्यु भएकाले भौतिक रूपमा देखिनुहुन्न । ईश्वर छैन जसले भन्दछ, उसले ईश्वरलाई स्वीकारी सकेको हुन्छ अनि निषेध गर्छ र छैन भन्दछ ।

जर्मनका दार्शनिक फ्रेडरिक नित्सेले ईश्वर मरिसक्यो भनेका थिए । जसको जन्म हुन्छ त्यही मर्छ, जो जन्मदैन त्यो मर्दैन । प्रोटेष्टेन्ट धर्म मान्दै आएका नित्सेले बाइबलका ईश्वर मरे भनेका हुन सक्छन्, हाम्रो ईश्वरलाई होइन । युरोपमा पोपको वितण्डा देखेर कार्ल माक्र्सले धर्मलाई अफिम भने हिन्दूधर्मलाई होइन । ब्रह्माण्ड बनाउने, वेदले स्वीकारेको ईश्वर मर्दैन । यही प्रश्न कुनै बेला सातौँ शताब्दीका प्रकाण्ड विद्वान् उदयनाचार्यलाई सोद्धा उहाँले भन्नुभयो–
यदि नो जगतां कर्ता, कुलालेन विना घटम् ।
चित्रकारं विना चित्रं स्वतः एव तदा भवेद् ।।

अर्थात् “कुमालेविना घैँटो आफैँ बनोस्, चित्रकारविना चित्र बनोस् अनि विश्वास गरौँला ईश्वरविना जगत्को निर्माण आफैँ भयो ।” कर्ताविना कार्य हुनै सक्दैन । कर्ता, कार्य र कारण बीचमा अभेद सम्बन्ध छ । घर, बाटो, बम, जहाज आदि आफैँ निर्माण हुँदैन । ब्रम्हाण्डमा कैयौँ ग्रह, उपग्रह, तारा आदि छन्, तिनका नियम छन्, स्वरूप छन्, संरक्षण गर्ने कोही हुनै पर्छ । कतिपयले यसको उत्पत्तिको श्रेय प्रकृतिलाई दिन्छन् ।

प्रकृति जड हो यसले चेतनाको जन्म गराउन सक्दैन । वैज्ञानिकहरूले सूर्य विस्फोटन भई उच्छिट्टिएका टुक्राहरूले सूर्यलाई पुनः घुम्न थाले । सूर्यबाट टाढा रहेका टुक्रहरू विस्तारै चिसो हुँदै गएर ग्रहको उत्पत्ति भयो । पृथ्वी सेलाउँदै गएपछि वाष्पीकरणद्वारा वर्षापछि जीवको विकास भएको ठान्दछन् ।

वैज्ञानिकहरूको यही तर्क सही मान्ने हो, भने पनि सूर्यमा तातोपन कसले ल्याइदियो ? सूर्य घुम्ने आकाशको निर्माण कसले गरिदियो । करोडौँ आकाशीय पिण्ड अटाउने ब्रम्हाण्ड कसले प्रदान ग-यो ? सूर्यबाट नौ ग्रह, उपग्रहहरू बनेको विषयलाई विश्वास गर्ने हो भने Black Hole (कृष्णछिद्र) के फुटेर बन्यो ? सूर्यजस्ता लाखौँ तार कहाँबाट पैदा भए ? हरेक ग्रहहरूलाई निरन्तर घुमिरहने आज्ञा कसले दियो ? सूर्यलाई ६ महिना उत्तरी र ६ महिना दक्षिणी गोलाद्र्धमा बस्ने आदेश कसले दियो ? आकाशीय पिण्डहरूलाई आँपका दानाजस्तै गरी ब्रम्हाण्डमा झुण्डी रहन कसले सिकायो ?

अमिबाबाट नै जीवहरूको श्रीगणेश भएको मान्ने हो भने अमिवालाई नै कसले जन्माइदियो ? पृथ्वीमा पानी, हावा र वनस्पतिलाई कसले उत्पन्न गरायो ? गर्भमा कसले बचाएर राख्यो ? बच्चाको मुखमा त आमाले दूध लगाइदिन्छिन् तर स्तनमा दूध कसरी हालिदियो ? यो कार्य त निर्जीव प्रकृतिले गर्दैन, चेतनले मात्र गर्न सक्छ । चेतन नै ईश्वर हो । ईश्वरले युगौँदेखि सृष्टिलाई निरन्तरता दिइरहेको छ । यो कार्य प्रकृति (जड वस्तु)ले गर्न सक्दैन । पानीको प्रकृति हो, सधै तलतिर बहनु, भिजाउनु, चिसो हुनु हो । पानीलाई जेनेरेटरद्वारा जति माथि लगे पनि पुनः तल नै जान्छ, जति तातो बनाए पनि चिसो हुन्छ । यो पानीको प्रकृति-स्वभाव हो । के पानी आफैँ माथि जान्छ ? आफैँ तात्दछ ? स्वरूप परिवर्तनको लागि चेतनको आवश्यकता पर्छ ? यो अद्वितीय कार्य जसले गर्दछ, त्यसलाई ईश्वर भनिन्छ ।

ईश्वरलाई विश्वास, शास्त्र र चिन्तनबाट अनुभव गर्न सकिन्छ । अनवरत साधना, गुरुको मार्गदर्शन, पूर्वजन्मको कर्मले ईश्वरसम्म पुग्ने ढोका खुल्छ । हाम्रासामुमा व्याक्टेरीया र भाइरस नभएका होइनन्, हामीसँग तिनीहरूलाई देख्ने क्षमता नभएको हो । लाहिडी महाशय, करपोक स्वामी सोमेश्वरानन्द, तैल∙स्वामी, शिवपुरीबाबा, वालागुरु षडानन, रामकृष्ण परमहंस आदिसँग ईश्वर अनुभूत गर्ने क्षमता थियो । साधनाद्वारा तेस्रो नेत्र खुलेपछि साक्षात्कार गर्न कुनै गाह्रो पर्दैन । तेस्रो नेत्र खुलेको दिन महादेव बन्न सक्छौँ, मानव जीवनको सार्थकता पूरा हुन्छ ।

यथा सत्सन्निधानेन गन्धः क्षोभाय जायते ।
मनसो नोपकर्तृत्वात् तथासौ परमेश्वरः ।।
–विष्णुपुराण

अर्थात्, “जसरी गन्धलाई नाकले थाहा पाउँछ, त्यसरी मनलाई भगवानमा लगाउँदै जाँदा अनुभव गराउँछ ।” सूक्ष्मदर्शकयन्त्रले सूक्ष्म कीटाणुलाई, दुरविनले आकाशीय पिण्डलाई देख्दछ । जोसँग यन्त्र छैन, उसले छैन भन्नु स्वाभाविकै हो । वैदिकशास्त्रहरूमा ईश्वर प्राप्त गर्ने उपाय, शास्त्र र पद्धतिका वर्णन छन् । ईश्वर चिनाउने पुस्तक नै शास्त्र हो । ईश्वरको चिन्तन गर्ने ऋषिमुनि हुन् । भारतद्वाज, काश्यप, कौडिन्य आदि गोत्रहरू भएका ऋषिहरू थिए भन्ने प्रामाणित हुन्छ ।

यथा पूर्वअकल्पयत् सूर्यचन्द्रमसौ (ऋग्वेद) अर्थात्, हे ब्रम्हाण्ड पहिलाका कल्पहरूमा सृष्टि चलाउन सूर्य, चन्द्र, प्राणी र प्रकृतिको सृष्टि गरेझैँ यो कल्पमा पनि काम गर । अघिल्ला सृष्टिहरूमा जस्तै यो सृष्टिमा पनि मानवसृष्टि सर्वोत्तम प्राणी भयो । मानवलाई प्रजा पनि भनिन्छ । प्रकर्षेण जायतं इति प्रजाः अर्थात्, राम्रोसँग उत्पन्न भएकालाई नै प्रजा भनिन्छ । प्रजा उत्पादन गर्ने कार्य ब्रम्हाजीले गरेका हुनाले प्रजापति नामले पुकारिन्छ ।

दार्शनिक वा वैज्ञानिक सबैले ईश्वरलाई मान्दछन् । धार्मिक र वैज्ञानिकको तर्क फरक देखिए पनि मिलनबिन्दू एउटै हुन्छ । युद्धविमान चलाएर चर्चित बनेका पाइलट, अन्तमा पाइलटबाबा बनेका हुन् । डाक्टरको जीवनबाट अचानक सन्यासीको जीवन बिताउने खप्तड स्वामी, उच्चकोटीका साधक हुनुभयो । बुद्ध र महावीरले राजपाठ छोडे, भर्तृहरि, जनकलगायतका कैयौँ राजाहरू साधु–सन्तकै पवित्र, पापनाशक मार्गमा पुगे । सिद्धिनरसिंह मल्ल भिक्षु बने, सम्राट् अशोकले बुद्धको बाटो समाते । ईश्वरको अनुभव, ज्ञान र साधनाले हुन्छ ।

जिन्दगी खुबसूरत है, मगर जीना नही आया ।
नशा हर चीज मे है, मगर पीना नही आया ।।

कुमार्गमा हिँड्ने नशा लागेपछि साधु–सन्त बन्ने, ईश्वरको चिन्तन गर्ने बुद्धि कहाँबाट आउँछ ? पापले नेटो काटेपछि विपत्ति ल्याएर चेताउँछ, बुझाउँछ, बाटो देखाउँछ, प्रकृतिको व्यवस्थपन गर्छ । जुन दिन रहस्यको खोजी, आफ्नो अनुसन्धान, ब्रम्हाण्डको चिन्तन गर्छौं त्यही दिन ईश्वर भएको पुष्टी हुन्छ । ईश्वरप्रति आस्था नभएको कुनै मानिसले महाभारत र वाल्मीकिजस्तो महाकाव्यको रचना गरोस् । वेदको कुनै एउटा मन्त्र बनाओस् ।

महाजनो येन गतः स पन्थाः अर्थात् महापुरुषहरू जुन मार्गमा हिँड्छन् त्यही बाटो हिँड्दा ईश्वर पाउँछ । अध्यात्मक्षेत्र जडसूत्रवादी, अनुत्पादकजस्तो देखिए पनि अन्तिम अवस्थामा हिँड्ने बाटो यही हो । जुन बाटो हाम्रा ऋषिमुनि र पुर्खाहरूले ईश्वरको अस्तित्वलाई स्वीकार्दै, ईश्वरीय चिन्तनको बीज रोप्दै, उमार्दै, फैलाउँदै अरूलाई उपदेश दिए । हाम्रा पुर्खा, शास्त्र, भूगोल, तीर्थस्थल, पर्वले ईश्वरको अस्तित्व स्वीकारेको छ ।

दशैँ, तिहार, होलीजस्ता पर्वले ईश्वर भएको बसाउँछ । हरेक धर्मशास्त्र र धर्मले ईश्वर मानेका छन् । मुटु र फोक्सो आफैँ चल्दैनन् कसैले चलाउँछ । कम्प्युटर, मोबाइल, बस आदि चलाउने भएझैँ ब्रह्माण्डको सञ्चालक हुनै पर्छ । जन्म र मृत्यु, ब्रम्हाण्ड र प्रकृतिको उत्पत्तिले गराउने कोही छ । प्राणी जन्माउँछ, ईश्वरले सृष्टि र सञ्चालन गर्छ । यी तथ्यले ईश्वर भएको संकेत गर्छ । शङ्कराचार्यले प्रबोधसुधाकरमा भन्नुभएको छ–

ब्रम्हाण्डानि बहूनि पङ्कज भवान्प्रत्यण्डमत्यद्भूतान् ।
गोपान् वत्सयुतानदर्शयदजं विष्णूनशेषांश्च यः ।।

अर्थात्, “जसले ब्रम्हाजीका प्रत्येक ब्रम्हाण्डमा अलग अलग ब्रम्हा, गोपीहरू तथा विष्णु बनाउनुभयो ।” प्रत्येक लोकका कार्य गरे व्यवस्थित रुपमा देवीदेवताहरूको सृष्टि भयो । खेतीपातीका कार्य नदेखेको मानिसले ब्याडमा भकारीको धान छरेको देख्दा किसानलाई अवश्य पागल भन्दछ । जप, तप, तीर्थाटन, पूजा आदि कार्यले के प्राप्त हुन्छ त्यो गर्नेलाई थाहा हुन्छ । ईश्वरलाई बुझ्न शास्त्र अध्ययन, साधुसन्तको मार्गदर्शन, तीर्थाटन, उपासना आदिको आवश्यक छ ।

श्रवण (सुन्ने), मनन (विचार गर्ने), निदिध्यासन (प्रयोग गर्ने) हाम्रा सिद्धान्त छन् । बिजुली प्रयोग गरिरहेका छौँ तर पानीभित्र आगो छ भन्दा पत्यार लाग्दैन, दूधभित्र घ्यू देखिँदैन, उखुभित्रको गुलियो प्रयोगकर्ताले अनुभव गर्छ । परमात्माको बारेमा नजान्नु, नखोज्नु भनेको जवाहरलाल नेहरू र पागलको संवाद जस्तै हो । एकपटक जवाहरलाल नेहरू पागलखानामा पसेछन् । एउटा पागलले उनलाई सोधे छ– “तिमी को हौ ?”
नेहरुले भने छन्– “म भारतको प्रथम प्रधानमन्त्री हूँ” ।

नेहरूको उत्तर सुनेपछि पागलले भने छ– “म पनि पहिले आफूलाई भारतको प्रधानमन्त्री नै भन्ने गर्दथेँ ।”

पागलको कुरा सुनेर नेहरू चुप लागेछन् । प्रश्नकर्ताले उत्तर दिनेको अवस्था विचार गरी प्रश्न सोध्नुपर्छ । जसले धर्मगुरु, धर्मशास्त्र, तीर्थको अनुभव गरेको छैन, शास्त्र पढ्दैन त्यसले ईश्वरको बारेमा बखान गर्नुको अर्थ के रहन्छ ? ईश्वर नभए मठ, मन्दिर, मस्जिद, चैत्य, विहार, गुम्बा, चर्च आदिको निर्माण किन गरिन्थ्यो ? विभिन्न सम्प्रदायको विकास कसरी हुन्थ्यो ? धर्मगुरु किन जन्मने थिए ? ईश्वरको नाम जप्न किन लगाइन्थ्यो, यति धेरै धर्मग्रन्थ वा शास्त्रहरू किन लेखिन्थ्यो–

हिन्दू मूसलमान रे फिरंगी कै जातें होदी बोधी जैन अपार ।
वाद सो व्रोध बधरिया करी अगानी उदेकार ।।

(किरन्तन ५३।२)

अर्थात्, “हिन्दू, बुद्ध, मुसलमान, क्रिश्चियन, यहूदी, जैनहरूले किन आ–आफ्ना धर्मग्रन्थहरू र गुरु ठीक छन् भनेर गर्जन्थे ।” भोक नलागुन्जेल बच्चा खेल्छ, उफ्रन्छ र आमा बिर्सन्छ तर लागेपछि आमालाई जसरी संझेझैँ नास्तिकले दुःख परेपछि ईश्वरलाई पुकार्छ । चुनाव होस् वा वढुवा, अन्तरिक्षाको यात्रा होस् वा सर्वोच्चको मुद्दा फैसला, आपद परोस् वा चिन्ता लागोस् अनि ईश्वरलाई पुकार गर्छन्, इष्टदेवको भाकल गर्छन् । वेदले ब्रé भनेर, मुन्धुमले पारुहाङ र सुम्निमा संझेर, त्रिपिटकले बोधिसत्व मानेर, कुरानले खुदा ठानेर, बाइबलले पिता जानेर, किरन्तनले अक्षरातीत स्वीकारेर ईश्वर रहेको बताउँछन् । ईश्वरका मूर्ति बनेका छन्, चित्र कोरिएका छन्, तस्वीर उतारिएका छन् । नभएका वस्तुको यस्तो कार्य गर्न सकिन्छ र ? त्यसैले ईश्वर छ ।

एकपटक टेहरीमहाराज कीर्ति शाह दलबलसहित शिकार खेल्न गएको समयमा स्वामी रामतीर्थको कुटीमा पुगेछन् । सामान्य कुराकानीपछि राजाले स्वामी रामतीर्थसँग यही प्रश्न गरेछन्– “हे गुरु महाराज  भगवान् छ त भन्दछन्, आजसम्म देखेका छैनौँ, के ईश्वर छ ?”

प्रश्न सुनेपछि स्वामीजीले राजाको गालामा दुई थप्पर लगाइदिए छन् । आफ्ना सैनिक एवंं भारदारका अगाडि भएको अपमानलाई बल्लतल्ल सहन गरेर राजाले भनेछन्– “स्वामीज्यू ¤ तपाईं त विद्वान् र उच्चकोटिको महात्मा भनेर भेट्न आएको महाक्रोधी पो हुनुहुँदोरहेछ ।”

राजाको कुरा सुनेर स्वामीजीले भन्नुभए छ– “कसरी राजन् ?”
राजाले भने छन्– “तपाईंले मलाई किन कुट्नुभएको ?”
स्वामीजीले भन्नुभए छ– “मैले कुट्दा तिमीलाई के भयो ?”
राजाले भने– दुख्यो नि .

स्वामीजीले हाँसेर भन्नुभए छ– “खै मलाई देखाउ त कति दुःखेछ ।”

राजाले कुरा बुझे । दुःखेको जसरी देखाउन मिल्दैन, सकिँदैन त्यसरी नै ईश्वरलाई अनुभव गर्न सकिन्छ, देखाउन सकिँदैन । स्वामीजीले भन्नुभए छ, “हे राजन्¤ जसलाई चोट लागेको छ, उसले ऐद्रद्रया को अर्थ बुझ्दछ ।कसैले ऐद्रद्रया भन्यो भने त्योभन्दा पहिले ऐद्रद्रया भएको व्यक्तिले यसको अर्थ र मर्म जान्दछ । आफूले नभोगको, नदेखेको विषय अरूले सुनाउँदा नपत्याउनु स्वाभाविकै हो” ।
मीराबाईले भनेकीछिन्– घायलकी गति घायल जाने, जो कोही हुय घायल ।

पर्दा लगाएर सिरकले मुख छोपेर सुतेको व्यक्तिले सूर्य छैन भनेर घोषणा गर्दा उसका लागि ठीक हुन्छ । काम, क्रोध, लोभ, मोह, अहंकार आदि विकृतिलाई हटाउन सक्यो भने कृष्णले अर्जुनलाई “म तिम्रो हृदयमा बस्दछु” भनेझैँ ईश्वरको दर्शन मिल्दछ ।

मुण्डकोपनिषद् (१। १।७)ले भनेको छ–“जसरी माकुराले स्वयं जालो बुन्दछ र आफैँले निल्दछ, जसरी पृथ्वीमा विभिन्न औषधिहरू उत्पन्न हुन्छन् । जसरी जीवित मनुष्यमा कपाल र रौँ उत्पन्न हुन्छन्, त्यसरी नै परब्रéबाट सबै वस्तु उत्पन्न हुन्छन् र उसैमा विलीन हुन पुग्दछन् ।” उत्पत्ति र लय ईश्वरले गर्छ । कति प्राणी आए, गए यसको अभिलेख र प्रबन्ध ईश्वरले गर्छ । ईश्वरले सृजना गर्छ प्राणीले बनाउँछ, ईश्वरले पालन गर्छ प्राणीले खुवाउँछ, ईश्वरले नाश गर्छ प्राणीले हटाउँछ । बुबाआमाले बच्चा जन्माउन निमित्त बन्छन् । शारीरिक रूपमा सक्षम युवायुवतिबाट सन्तान नभएका हजारौँ प्रमाण छन् ।

प्राणीले आफ्नो खानाको खोजी गर्छ तर त्यसलाई ईश्वरले बनाउँछ । अन्न, पानी, हावा मानिसले बनाउँदैन उपभोगमात्र गर्छ । मानिसले विनाश गर्न सक्दैन तर केही समयका लागि हटाउन सक्छ । वर्षायाममा मानिसले नलगाएका वा संरक्षण नगरेका कैयौँ झार उम्रन्छ, फल्छन्, फुल्छन्, फैलन्छन् । हाम्रा इच्छा, परिश्रमले सृष्टिमाथि अधिकार जमाउन र परिवर्तन सक्दैन ।

यथोर्णनाभिहर््दयादूर्णा सन्तत्य वक्त्रतः ।
तया विह्त्य भूयास्तां ग्रसत्येवं महेश्वरः ।।
–श्रीमद्भागवतपुराण (११।९।२१)

अर्थात्, “माकुराले मुखद्वारा पेटको तन्तुलाई झिकेर फिँजाइ जालो बनाएर त्यससँग विहार गरी फेरि निल्दछ, त्यसैगरी परामात्माले जगत्को रचना गर्दछ, त्यसमा विहार गरी पुनः आफूमा लीन गर्दछ । यो क्षमता जसमा छ त्यही नै ईश्वर हो ।” आमा र बुबा नभई हामी हुँदैनौँ ।

हाम्रा पुर्खा थिए र वंशपरम्परा चल्दै आयो । विवेकानन्दले आफ्ना गुरु रामकृष्ण परमहंसलाई ईश्वर छ भनी सोधेका थिए । रामकृष्ण परमहंसले– “मैले ईश्वर देखेको छु, तिमी हेर्न चाहन्छौँ” भन्दा विवेकानन्द बोल्न सकेनन् । घरमा फर्किएपछि आफैँंलाई धिक्कारे, मैले हुन्छ देखाइदिनुहोस् किन भन्न सकिनँ ? पछि त विवेकानन्द आफैँले ईश्वर छ भन्दै हिँड्न थाले । जहाजमा पाइलट नदेखिए पनि आफैँ उड्यो भन्न सकिँदैन । विमान उडाउन पाइलट आवश्यक परेझैँ चराचर जगत् चेतन (ईश्वर) विना चल्दैन ।

ऋतु परिवर्तन, कीराहरूको जीवन चक्रको परिचालन, फूलमा सुगन्धजस्ता कार्य प्रकृतिले गरिदिने भए, पहाड र पोखरी, हिमाल र हीरा प्रकृतिले निर्माण गरोस् । प्रकृतिलाई चलाउने ईश्वरलाई विर्सिएर, प्रकृति नै सवैसर्वा भन्नु मूर्खता हुनेछ । अमेरिकी राष्ट्रपति जर्ज बुसले हनूमान्को लकेट लगाए, बेलायतजस्तो विकसित राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुख धर्मग्रन्थ छोएर समपथ खान्छन् ।

धर्मको उत्पत्ति, ईश्वरको पूजा सबैभन्दा पहिले जहाँबाट शुरु भयो तिनीहरूले ईश्वर नस्वीकार्नु, धर्म नमान्नुजस्तो उद्दण्ड अरु के हुन्छ ? कार्लमाक्सले जवान छोराको मृत्युपछि साथीहरूलाई लेखेको चिठ्ठीमा ईश्वरीय सत्तालाई स्वीकारेका छन् ।

देवकोटाले अन्तिम समयमा ईश्वरलाई मानेका छन् । जसका घरमा तुलसी र शालग्राम थिए, गाई र नागको पूजा गरिन्थ्यो, आमाबुबा र गुरुलाई ईश्वर ठानिन्थ्यो, सूर्यदेखि सोमसम्मलाई ईश्वर रूपमा देखिन्थ्यो त्यसले ईश्वरलाई कसरी बिर्सन सक्छ । पुर्खा, पृथ्वी र प्रकृतिले ईश्वरलाई भएकाले हामीसँग ईश्वर छन्, हामी ईश्वरका सृष्टि, परमात्माका सन्तान हौँ । यसैले ईश्वरको पूजन गरौँ र सन्मार्गको अवलम्बन गरेर परमपदको प्राप्ति गरौँ ।