२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री



अ+ अ-

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो ।

“सरदर प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो “अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।”

जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताउनुभयो । गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।

व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए । वर्षमा १० मुरी धान फल्ने खेतमा चार सय बिरुवा सुन्तला लगाउनुभएकी हुमेनले यसपाली बगैँचाबाटै रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताउनुभयो । “छोरा विदेशिए, छोरिको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाडेर कानको चार तोला सुन बेचेर खाल्डा खनी सुन्तलाका बिरुवा किनेर रोपेको थिए”, उहाँले भन्नुभयो, “सुन बेचेर रोपेको सुन्तलाले सुनै फलाएको छ ।”

सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् । रासस