५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिर छिचोलेर पदमार्ग



अ+ अ-

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् ।

कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताउनुभयो । “चट्टाने भिरमा मजदुरले काम गरे”, उहाँले भन्नुभयो, “पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ ।”

चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उहाँले सुनाउनुभयो । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए ।

त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताउनुभयो । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उहाँको भनाइ थियो ।

जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो । “भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएकोछ”, अध्यक्ष थापाले भन्नुभयो, “थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ ।”

अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उहाँले जानकारी दिनुभयोे । गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको रु पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो । अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ । त्यसका लागि थप रु ३० लाख बजेटको खाँचो छ ।

“बीचमा कतैबाट पनि बजेट आउन सकेन, झण्डै दुई वर्षजति पदमार्गको काम रोकियो”, उहाँले भन्नुभयो, “यो वर्ष प्रदेशबाट आएको पाँच लाख बजेटबाट तीन सय मिटर जति पदमार्ग बनिसकेको छ ।” बाँकी खण्ड सजिलो ठाउँको भएकाले कम बजेटमा पनि धेरै काम गर्न सकिने भएको छ ।

गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । “छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ । उक्त पदमार्गमा सङ्घ र प्रदेश सरकारको गरी हालसम्म रु ३५ लाख खर्च भइसकेको छ । भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो । उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले पर्यटन विकासका लागि पदमार्गसहित अरु पूर्वाधार पनि चाहिने बताउनुभयो । “पदमार्ग बन्दैछ अब पर्यटक आकर्षित गर्ने खालका गतिविधि पनि सञ्चालन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “पूर्वाधार बनाउनसके घुम्टेमा पर्यटक आउँछन् ।”

पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिनुभयो । एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ ।

घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ । बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । त्यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन् ।

घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ । वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ । यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ । गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पु¥याउन लगानी गरिरहेको छ ।

बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ । हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे पुगिन्छ । गलकोट–१० पाण्डवखानी र ताराखोला–३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ । रासस