२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाभन्दा माधव नेपाल बढी उत्साहित देखिएपछि…



अ+ अ-

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनुभयो । उहाँले आजै पद तथा गोपनीयनाको सपथ लिनुभयो । 

राष्ट्रपति कार्यालयमा आज आयोजना भएको सपथ कार्यक्रममा आजै नियुक्त भएका प्रधानमन्त्री देउवाभन्दा पनि बढी उत्साहित देखिनुभएको थियो एमालेका वरिष्ठ नेता माधव नेपाल । 

पूर्व प्रधानमन्त्रीको हैसियतमा उहाँ र प्रचण्ड सो सपथ समारोहमा उपस्थित हुनुभएको थियो । त्यस क्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई सबैले बधाई दिएका थिए । तर माधव नेपालले दिएको बधाई विशेष प्रकृतिको थियो । 

सपथ सकिनासाथै उहाँ सीधै मञ्चमा पुग्नुभयो र प्रधानमन्त्री देउवासँग हात मिलाएरै बधाई दिनुभयो । 

तर उहाँबाहेक अरु कसैले पनि हात मिलाएका थिएनन् । किनभने यतिखेर देशमा कोरोना महामारीको त्रास छ र नेपाल सरकारले पनि हात नमिलाउन र टाढैबाट नमस्कार गर्न बारम्बार आग्रह गरिरहेको छ । 

माधव नेपालले हात दिएपनि प्रधानमन्त्री देउवा भने हच्किनुभएको थियो । तर पछि उहाँले पनि हात दिनुभयो र दुवैले बडो जोडका साथ हात मिलाउनुभएको थियो । 

हात मिलाइसकेपछि पनि देउवाको हातबाट आफ्नो हात झिक्न माधव नेपालले नमानेजस्तो दृश्यमा देखिन्थ्यो । 

अनि त्यहाँ उपस्थित भएका सबैले टिप्पणी गरेका थिए– ओहो यहाँ त देउवा भन्दा पनि नेपाल नै खुशी देखिनुभयो त । 

माधव नेपाल विपक्षी गठबन्धनमा हुनुहुन्छ र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न उहाँको गठबन्धनका एमाले सांसदहरुले पनि सर्वोच्चमा हस्ताक्षरसहितको रिट पेश गरेका थिए । 

त्यसैले पनि आज माधव नेपाल देउवा प्रधानमन्त्री भएकोमा भन्दा पनि एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्युत गरेकोमा नै बढी खुशी देखिनुभएको धेरैको टिप्पणी छ ।