• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

डा. रुइतलाई १३ करोडको पुरस्कार



बहराइन । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिरसंस्थालाई प्रदान गर्दै आएको छ ।

खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका थिए ।

डा. रुइतले मोतियाबिन्दुको उपचार गर्ने सरल विधि विकास गरेका थिए । उनले इन्ट्राअकुलर लेन्स विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा. रुइतले पहल नगरेको भए ती मानिसले सम्भवतः संसार देख्न पाउने थिएनन् ।

इसा अवार्ड पाउने डा। रुइत पाँचौं हुन् । यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको थियो । कोभिडका कारण सन् २०२१ मा इसा अवार्ड घोषणा गरिएको थिएन । यो अवार्डअन्तर्गत डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

यस पटक अवार्डका लागि सुरुमा १ सय ४५ व्यक्ति तथा संस्था मनोनयनमा परेका थिए । उनीहरूमध्ये ६ व्यक्तिरसंस्थालाई ‘सर्टलिस्ट’ गरिएको थियो, जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी सिप, बंगलादेशको फ्रेन्ड्ससिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसन र नेपालका रुइत थिए ।

युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनले नेतृत्व गरेको सात सदस्यीय जुरीले डा. रुइतलाई छनोट गरेको हो । सर्टलिस्ट प्रकाशित भएपछि अवार्ड छनोट समिति सदस्य तथा अनुसन्धानकर्ताले उनीहरूको देशमा स्थलगत भ्रमण गरी कामबारे जानकारी लिएका थिए ।

‘यो अवार्डका विजेताले मानव कल्याणका लागि व्यक्तिगत तहमा त्याग गरेका छन्, जोखिम उठाएका छन् र त्यो जोखिमसँग जुध्नका लागि लामो समय खर्चिएका छन्,’ जुरीका प्रमुख पलसनले डा। रुइतलाई नै छनोट गर्नुको कारण उल्लेख गरे, ‘रुइत अस्ट्रेलिया पुगेका थिए । उनी उतै बस्न सक्थे । अमेरिका पुगेर निकै सुविधाजनक जीवनयापन गर्न सक्थे । उनले आँखाका बिरामीका लागि सुविधाजनक र महँगा उपकरण आविष्कार गर्न सक्थे । उनले त्यसो गरेनन् । बरु उपचारमा सबैको पहुँच पुर्‍याउने लेन्स आविष्कार गरे । त्यसको उपचार नेपालमा मात्र सीमित नराखेर संसारभर पुर्‍याए । उनको त्यो मानव कल्याणको काममा टेवा पुर्‍याउन हामीले उनैलाई छनोट गरेका हौं ।’

डा. रुइतले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाएका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उनलाई सम्मान गरेको थियो । उनले २०७२ मा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट’ प्राप्त गरेका थिए । २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।

डा. सन्दुक रुइतले सन् १९८० को दशकमा नेत्र चिकित्सकका रूपमा काम थालेका हुन् । त्यस बेला नेपालजस्ता देशमा मोतियाबिन्दुको शल्यक्रिया परम्परागत विधिबाट गरिन्थ्यो र शल्यक्रियापछि मोटो लेन्स भएको चस्मा दिइन्थ्यो ।

एक सर्वेक्षणले करिब ६ प्रतिशत अन्धोपन आँखाको मोतियाबिन्दुको शल्यक्रियाबाटै सिर्जित समस्याबाट हुने देखाएको थियो । त्यस्तो अवस्था देखेपछि शल्यक्रियालाई कसरी सरलीकृत गर्न सकिन्छ भनेर डा। रुइतले काम सुरु गरेका थिए । त्यसरी थालिएको प्रयास आज नेपालजस्तै विकासोन्मुख देशका अन्धोपन भएका नागरिकका लागि वरदान साबित भएको छ ।

डा. रुइतको नेतृत्वमा सस्तोमा उत्पादित इन्ट्राअक्युलर लेन्सले मोटो लेन्स भएको पुरानो चस्मालाई विस्थापित गरिसकेको छ । कान्तिपुर दैनिक