२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीस वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ



अ+ अ-

पाटन । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताउनुभयो ।

उक्त समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म सञ्चालन हुनेछ । गोदावरी नगरपालिका–११ चापागाउँमा अवस्थित बज्रबाराहीदेवी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मुख्य कथावाचक पण्डित कपिलदेव भट्ट हुनुहुन्छ । काठमाडौँ उपत्यकामा चारतिर चार बाराही मन्दिर छन् । उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही पर्दछन् । त्यहीमध्येको बज्रबाराही बाराहको स्त्रीलिङ्गी रुप हो ।

बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ । यसको पूर्वतिर झरुवारासी, बडिखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागल वन, नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्दछ । बज्रबाराही बाहेक अरु तीन बाराहीमा हालसम्म दैनिक नित्य पूजा सञ्चालन हुँदै आइरहेको छ । माघ ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने श्री बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष कर्माचायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरको दैनिक पूजा चलाउन सामग्रीसमेत जुटाउन नसक्ने भएपछि सो काम रोकिएको हो, अब नियमित सञ्चालन गर्न अक्षय कोष स्थापना गर्नु आवश्यक छ ।”

महायज्ञको शुभारम्भमा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशमशेर राणाले सबैले मिलेर महायज्ञलाई सफल बनाउँदै अक्षयकोष स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभयो । “बज्रबाराही मन्दिर हाम्रो महत्वपूर्ण सम्पदा हो, यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा हामीहरु सबै मिलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै ललितपुर क्षेत्र नं २ का सङ्घीय सांसद प्रेमबहादुर महर्जनले पूर्खाले जोडेर छाडेको भौतिक सम्पदा र अमूर्त सम्पदाको संरक्षण गर्ने लक्ष्य आफ्नो निरन्तर सहयोग हुने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पूर्खाले चलाएको प्रचलनको संरक्षण गर्न नसक्दा नित्य पूजा सञ्चालन गर्न पनि महायज्ञ लगाउनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

सात दिन महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताउनुभयो ।

सत् धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नित्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा नारायणहरि गजुरेलले आग्रह गर्नुभयो ।

बज्रबाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनकोबीचमा रहेको छ । नेपाल संवत् ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको र पछि सो संवत् ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेको समितिका अध्यक्ष कर्मार्चायले जानकारी गराउनुभयो ।

बज्रबाराहीको जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पति प्रशस्त पाइन्छन् । सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पात साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय पुरुषोतम घिमिरेले बताउनुभयो । रासस