• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

दम्पत्तिनै दुर्घटनामाः हेमजा शोकमा



गण्डकी । पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौँ झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुग्नुभएको थियो । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा पर्नुभयो ।

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गत वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आउनुभएको हो ।

“दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उहाँले भन्नुभयो । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ जानुभएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाउनुभएको थियो । जहाज दुर्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ । रासस