२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छः राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभयो । “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उहाँले भन्नुभयो ।

आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उहाँको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रकृतिलाई अझ सिंगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ ।”

राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताउनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उहाँले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेकन तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताउनुभयो ।

“प्राचीन सभ्यता र सनातन भूमिका रुपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देशविदेशमा निकै चर्चित बनेको छ, त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावि पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैँ बनाउ’ भन्ने समुदायलाई राज्यले ‘होस्टेमा हैँसे’ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धि, प्रकृति र इतिहासलाई समेट्दै गरिने पर्यटकीय विकास चानचुने विषय हैन, राष्ट्रिय पदमार्गअन्तर्गत टनचोक–धुलिखेल–तेमाल–महाभारत बुद्धसर्किट पनि योजनामै छ ।” रासस