२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका लेखा आयोग सदस्य बराल एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बराललाई खादा र अबीर लगाई स्वागत गरे ।

उनी कालीकोटको रास्कोट नगरपालिकाका पूर्व मेयर हुन् । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।

महासचिव पोखरेलले नेता बराल पार्टीमा समाहित भएबाट कर्णाली प्रदेशमा पार्टी कामलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा गत निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको र पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलको भनाई थियो ।

मुलुकको विकास र समृद्धिका लागि एमालेलाई सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरा प्राथमिकताको विषय भएकाले साना र अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरेर ध्रूबीकृत गरिने बताए ।

महासचिव पोखरेलले एमालेमा समाहित हुने अन्य पार्टीका नेताकार्यकर्ता आफ्नो राजनीतिक इतिहाससहित समाहित हुने बताउँदै बराललाई पनि उचित जिम्मेवारी प्राप्त हुने विश्वास दिलाए ।

नवप्रवेशी बरालले नेकपा (एमाले)ले नेकपाको विरासतलाई कायम राख्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्छ भन्ने विश्वासका साथ एमालेमा समाहित भएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही लगायतको उपस्थिति रहेको थियोे ।