काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महशुस हुँदै गएको बताउनु भएको छ ।
पूर्वराजा शाहले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देशमा यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न हामी सबै नेपाली तयार हुनुपर्ने उल्लेख गर्नु भएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, "अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पू¥याई रहेको छ, विचारणीय प्रश्न छ ।"
जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रवन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो भन्दै सन्देशमा राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ, न त्यो कसैको सूरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ भनिएको छ ।
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणली हो । अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन, सन्देशमा भनिएको छ ।
सन्देशमा अगाडि भनिएको छ, जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फूर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।
पूर्व राजा शाहले आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भन्ने कामना गर्नु भएको छ ।